Kathmandu Press

भारी वर्षा नहुने, आजैदेखि मौसममा क्रमिक सुधार आउने

काठमाडौं, असार २९ : चार दिनदेखि लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनाएपनि आजदेखि भने त्यसमा स

भारी वर्षा नहुने, आजैदेखि मौसममा क्रमिक सुधार आउने

काठमाडौं, असार २९ : चार दिनदेखि लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनाएपनि आजदेखि भने त्यसमा सुधार आउने भएको छ। अब केही दिन भारी वर्षा नहुने पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गत चार दिनदेखि देशभर वर्षा भएको थियो। पूर्वी तथा मध्य भागमा भारी वर्षा हुँदा जनधनको ठूलो क्षति भएको छ।

गृह मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार, वर्षाले आएको बाढी र पहिरोमा परेर देशका विभिन्न भागमा ४८ जनाले ज्यान गुमाएको छ भने अझै ३५ जना वेपत्ता छन्, दर्जनौं घाइते भएका छन्।

पूर्वी र मध्य तराई क्षेत्रका धेरै भू-भाग डुवानमा परेको छ। उद्धार र राहतको काम जारी रहे पनि हजारौं जनता बिस्थापित भएका छन्।

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, आजैदेखि मौसममा सुधार आउनेछ।

न्युन चापीय रेखा दक्षिणतिर सर्दै गएकाले मौसम सफा हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताए। ‘आज र भोलि पूर्वी र मध्य भू-भागमा सामान्य रुपमा पानी परेपछि हिजोअस्ति जस्तो भारी वर्षा हुने देखिदैन,’ मौसमविद् अर्यालले भने।

तराई क्षेत्रमा पनि आत्तिनु पर्ने अवस्था नभएको उनले बताए। उनका अनुसार, अहिले मनसुन न्यून चापीय रेखा नेपालको तराइ भू-भागमा रहेको छ। यो विस्तारै दक्षिणतिर सर्दैछ । त्यसैले आजैदेखि तराई क्षेत्रमा पनि मौसममा सुधार आउने मौसमविद् अर्यालको भनाइ छ।

पश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने आज बिहानैदेखि मौसममा सुधार आएको महाशाखाले जनाएको छ। त्यस्तै, काठमाडौंलगायत मध्य पहाडी भू-भागमा पनि आज बिहानैदेखि मौसममा क्रमिक सुधार हुन थालेको छ।

भोलि र पर्सिसम्म सबै क्षेत्रमा मौसम सुधार हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १२:०० बजे, आइतबार, असार २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्