Kathmandu Press

‘पानी जसरी दिन्छौ पिउन देऊ, उपत्यकावासीलाई जिउन देऊ’

काठमाडौं, असार १ : टन्टलापुर घाममा पसिना बगाउदै ६२ वर्षीया शान्ती शाक्य तीन घण्टा थापाथली चोकमा उभिइ

‘पानी जसरी दिन्छौ पिउन देऊ, उपत्यकावासीलाई जिउन देऊ’
शाेभा मानन्धर

काठमाडौं, असार १ : टन्टलापुर घाममा पसिना बगाउदै ६२ वर्षीया शान्ती शाक्य तीन घण्टा थापाथली चोकमा उभिइन्। सँगै उभिएका थिए, उनका श्रीमान पनि। शान्तीको हातमा थियो, एउटा प्लेकार्ड। जसमा लेखिएको थियो, ‘पानी जसरी दिन्छौ पिउन देऊ, उपत्यकावासीलाई जिउन देऊ।’

उनी त्यसै प्लेकार्ड बोकेर घाममा उभिएकी थिइनन्। धारामा पानी आउन छाडेपछि थापाथली चोक पुगेकी हुन, पानीका लागि। ‘पाँच वर्ष अघिसम्म जेनतेन हप्ताको एक–दुई दिन पानी आउथ्यो। तर अहिले त १२ दिनमा एक पटक धारामा पानी आउछ, त्यो पनि ढल मिसिएको गन्हाउने,’ उनले सुनाइन्।

उपत्यकाको खानेपानी पीडित दबाब समूहले आयोजना गरेको प्रर्दशनमा शान्तीसँगै अरु पनि थिए, पानीको माग गर्ने। काठमाडौंको असनका योगेश खड्गीले लामो समयदेखि पानीको समस्या झेलिरहेको बताए। ‘पहिले पहिले धारामा पानी आउथ्यो, अचेल खानेपानीको धारामा पानी होइन, गन्हाउने ढलको लेदो आउछ,’ योगेशले भने।

Hardik ivf

योगेश खड्गी।

असनजस्ता घनाबस्ती भएको भित्री शहरहरूमा पानीको समस्या अझ विकराल हुँदै गएको छ। भित्री शहरमा जमिनमुनि ट्यांकी बनाएको हुँदैन। जसले गर्दा ट्यांकरको पानी किन्न पनि सम्भव नभएको योगेशले बताए। ‘अब भएको जग्गा जमिन बेचेर पलायन हुनु बाहेक अर्को विकल्प छै,’ उनले गुनासो गरे।

शनिबार थापाथली चोकमा शान्ति, योगेशजस्तै पानीको समस्या झेलिरहेका उपत्यकाबासी भेला भएका थिए। सरकारलाई दबाब दिन भेलाका भएका काठमाडौं, ललितपुर र भक्तपुरका बासिन्दाको नारा थियो, ‘पानी जसरी दिन्छौ पिउन देउ, उपत्यकावासीलाई जिउन देउ।’

उनीहरू भन्दै थिए, ‘कमिसन भागबण्दा गर्दै गर्नु, प्हिले उपत्यकामा मेलम्ची झार्नु।’ त्यसमा अर्को नारा थपेका थिए, ‘खानेपानी मन्त्री विना मगर, पानी बिनाको उपत्यका नगर।’

सरकारले मेलम्चीको पानी आउँछ भनेर जनतालाई झुक्याउने काम गरिरहेको पाटन आल्कोहिटी संरक्षण तथा ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष सुशील श्रेष्टको गुनासो छ। १६ वर्षदेखि स्थानिय ढुङ्गेधारा, ईनारलगायतका परम्परागत पानीका स्रोतहरूबाट पानीको आवश्यकता पूर्ति गरिरहेको बताउँदै उनले भने, ‘ पानी दोहोन अत्यधिक भयो। सरकारले सडक विस्तारको नाउमा पानीका स्रोतहरू मास्यो। अहिले पाटन ईखाछें टोलका दुई सय परिवार ट्यांकरको पानी किनेर खाइरहेका छौं।’

पानीका लागि बारम्बार सरोकारवाला निकायमा ताकेता गर्दा पनि सरकार भने कानमा तेल हालेर बसेको अर्का खानेपानी पीडित राजाराम तन्डुकारले आरोप लगाए।

उपत्यकावासीलाई आफनो पुख्र्यौली थातथलोबाट विस्थापित गर्ने सरकारको षडयन्त्र भएको पानी अभियन्ता दलबहादुर देउलाको आरोप छ। ‘होईन भने सरकारी कार्यालय, राजनीतिज्ञ, पहुँचवालाको घरमा प्रशस्त पानी आउने तर सर्वसाधारणको घर र भित्री क्षेत्रमा चाहिँ पानी नआउने के हो?’ उनको प्रश्न थियो।

सरकारले पानीको आपूर्तिका लागि वैकल्पिक उपायमा खासै ध्यान नदिएका कारण अहिलेको विकराल अवस्था आएको लामो समयदेखि पानीको क्षेत्रमा कार्यरत अभियन्ता प्रकाश अमात्यको भनाइ छ। उनका अनुसार सरकारले आकाशे पानी संकलन तथा पुर्नभरणलगायतका विषयमा ध्यान दिनुपर्थ्याे।

पानीको आवश्यकता पूर्तिका लागि भूमिगत पानी दोहन भएकाले जमिनमूनिको पानी सुकेको उनको भनाइ छ। जसले गर्दा अहिले ट्युबेल, ढुङ्गेधारा, ईनारलगायतमा पानी नआएको उनले बताए।

मेलम्ची : २० वर्ष १३ प्रधानमन्त्रीका आश्वासन मात्रै

दशकौदेखि पानीको समस्या झेलिरहेका उपत्यकावासीको अन्तिम आशाको केन्द्र मेलम्ची नै होे। उनीहरूले यो सपना देख्न थालेको पनि दुई दशक पूरा भएको छ।
२०५५ मा नेपाल सरकारले मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरी एशियाली विकास बैक (एडिबी)सँग १२ करोड डलरमा सम्झौता गरेको थियो। जुन सन् २००७ (वि.स. २०६५) सम्म सक्ने लक्ष्य थियो।

सन् २००७ सम्म परियोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि माओवादी द्वन्द्वका कारण परियोजना सुरू नै हुन सकेन। सन् २००८ मा एशियाली विकास बैकसँग फेरि अर्को सम्झौता गरेपछि सन् २००९ बाट काम अघि बढाइएको थियो।

सन् २०१३ सम्म सक्ने लक्ष्यसहित २७ किलोमिटरको सुरुङ खन्ने काम सुरू भयो। तर सम्झौता बमोजिम सबै काम हुन सकेन। सन २०१३ सम्ममा तोकिएको काम पुरा नभएपछि सरकारले सरोकारवाला कम्पनीसँगको ठेक्का नै रद्द गर्‍यो।

फेरि अर्को इटालीयन कम्पनी सिएमसीसँग सम्झौता भयो र काम पनि हुन थालेको थियो। तर राजनीतिक खिचातानीलगायतका विभिन्न कारणले मेलम्चीको पानी आउने आशामा बसेका उपत्यकाबासी फेरि निराश बन्न पुगेका छन्। किनकी निर्माण कम्पनी काम अधुरै छोडेर हिडेको छ।

मेलम्ची सम्झौता भएपछिको २० वर्षमा १३ जना प्रधानमन्त्री भइसकेका छन्। सबै प्रधानमन्त्रीले मेलम्चीको पानी आफ्नै कार्यकालमा ल्याउने दाबी गरेका थिए। तर मेलम्चीको पानी त आएन, खानेपानीको अभाव झनझन बढ्दै गएको छ।

आन्दोलनमा उत्रिएका तीनै जिल्लाका बासिन्दाले तत्काल मेलम्चीको काम अगाडी बढाउन माग गरेका छन्। यसका लागि उनीहरू चरणबद्ध आन्दोलन गर्ने भएका छन्।

याे पनि पढ्नुस् : पाँच सय वर्ष पुरानो ढुङ्गेधारा मासिएपछि ट्याङ्करकाे भर

प्रकाशित मिति: १२:१३ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्