Kathmandu Press

ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्...

काठमाडौं – जब उनका औंलाहरू हार्मोनियममा नाच्न थाल्छन्, तब आँखा बन्द हुन्छ र अनुहारमा तृप्तिको

ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्...
रिवाज राई

काठमाडौं – जब उनका औंलाहरू हार्मोनियममा नाच्न थाल्छन्, तब आँखा बन्द हुन्छ र अनुहारमा तृप्तिको भाव झल्किन्छ। 

हुन त ८१ वर्षकी भइन्, तर सङ्गीत भनेपछि शान्ति ठटाल अझै पनि १८ वर्षे किशोरी झैं उत्साहित हुन्छिन्। हालै एक दिन उनी फुरूङ्ग पर्दै नेपालयको आरशालामा हार्मोनियम बजाउँदै थिइन्, दुबै आँखा चिम्म गरेर। 

मानौं, यो काठको हार्मोनियम नभएर फलामको टाइम–मशिन हो। मानौं, यो हार्मोनियमले सङ्गीतको सट्टा त्यस्ता मायावी तरङ्गहरू पैदा गर्छ, जसमा हेलिँदै, बहकिँदै र बत्तिँदै उनी विगतमा फर्किन्छिन्।

Hardik ivf

मानौं, उनी आँखा चिम्म गरेरै सन् १९६०–७० तिरको त्यो दार्जीलिङ पुग्छिन्, जहाँ उनी लता मंगेशकरको गीत गाउँदै चियाबारी डुल्थिन्। अरुणा लामासँग गीत गाउँथिन्। अगमसिंह गिरीका कविताहरू सुन्थिन्। र, अम्बर गुरुङको रचना र सङ्गीतमा ‘सम्हालेर राख, सङ्गालेर राख...’ जस्तो कालजयी गीत गाउँथिन्।

सन् १९६५ मा राजा वीरेन्द्रको जन्म जयन्तीमा रेडियो नेपालमा गीत गाउन शान्ति ठटाल पहिलोपटक काठमाडौं आएकी थिइन्। जब रेडियो नेपालमा उनका गीतहरू बज्न थाले, तब उनको लोकप्रियता दार्जीलिङमा मात्र सीमित रहेन। नेपालभरि फैलियो। पूर्वोत्तर भारतमा त उनको लोकप्रियता पहिले नै थियो।

तर, जीवनको उत्तरार्द्धमा उनी दार्जीलिङमै थिइन्। सङ्गीतकार आभासले उनलाई दार्जीलिङबाट नेपालयको पलेँटी श्रृंखलासम्म ल्याए। सन् २००६ मा पलेँटीमा पहिलो प्रस्तुति दिएपछि शान्ति ठटाल प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक नेपाल आइरहेकी छिन्, आफ्ना कालजयी गीत र सङ्गीतले काठमाडौं सहरलाई नै नोस्टाल्जिक बनाउन।

भिडियाे स्टोरी : लता मंगेशकरको छायाँ छोड्दा 

यसपटक भने उनी सिक्किमका दुई प्रतिभाशाली गायिका विमला सेञ्चुरी र अञ्जली प्रधानलाई लिएर पलेँटीमा आएकी थिइन्। जेठ १७, १८ र १९ गतेसम्म चलेको पलेँटीमा विमला र अञ्जलीले थुप्रै गीतहरू गाए। शान्ति ठटालले पनि दुई गीत गाए – सम्हालेर राख....र नझार आँखाबाट कसैका प्रीतहरू....।

तर, यसपालिको पलेँटी यात्रा सकिएको छैन। आगामी असार १३, १४ र १५ गते पनि शान्ति ठटाल पलेँटीमा प्रस्तुत हुँदैछिन्। तर, अबको पलेँटीमा उनले गीत गाउने छैनन्। विमला र अञ्जलीले गाउने गीतमा सङ्गीत मात्रै भर्नेछिन्।

अबको पलेँटीमा भने महाकवि मुनामदनका गीतहरू प्रस्तुत गर्ने तयारीमा छिन्, शान्ति ठटाल र उनका दुई शिष्यहरू। अहिले उनीहरू आरशालामा त्यसैको अभ्यास गर्दैछन्।

पलेँटीमा मुनामदनको सबैभन्दा लोकप्रिय गीत ‘ईश्वर तैले रचेर फेरि कसरी बिगारिस्...’ त प्रस्तुत हुने नै छ, ‘चखेवा उडी गइगयो टाढा शून्य भो रानीबन...’ जस्ता हृदयस्पर्शी गीतहरू पनि गाइनेछन्। लक्ष्मीप्रसाद देवकोटाले रचेका सबै गीतमा शान्तिकै सङ्गीत हुनेछ। 

शान्ति ठटाल नेपाली चलचित्रमा सङ्गीत भर्ने पहिलो महिला सङ्गीतकार पनि हुन्। उनले परालको आगोका गीतहरूमा सङ्गीत भरेर पार्श्व गायनमा हात हालेकी थिइन्। त्यसपछि पनि थुप्रै पार्श्व गीतहरू गाइन्, सङ्गीत भरिन्। तर, सम्हालेर राख, सङ्गालेर राख जस्तो लोकप्रिय गीत अरु कुनै भएन।

यो गीतले उनलाई दार्जीलिङमा मात्र होइन, नेपालमा पनि लोकप्रिय बनायो। हरेक पटकको प्रस्तुतिमा उनलाई यो गीत नगाई सुखै भएन। र, यो गीत उनको एन्थम बन्न पुग्यो।

सम्हालेर राखको कथा

राजा वीरेन्द्रको जन्म जयन्तीमा गीत गाउन काठमाडौं आउँदा नै उनले यो गीत रेडियो नेपालमा रेकर्ड गराएकी थिइन्। रेडियो नेपालबाट यो गीत नेपालीका घर–घरमा बज्न थाल्यो। शान्ति ठटाल एक्कासि सेलिब्रिटि भइन्।

एकदिन उनी काठमाडौंको एक साङ्गीतिक कार्यक्रममा गीत गाउने तयारी गर्दै थिइन्। एकजना अपरिचित दर्शक मञ्चमा आए र भने, ‘तपाईंसँग अरु राम्रा गीत पनि होलान्, तर सम्हालेर राख नै गाउनुहोस् है।’

धेरै दर्शक उनलाई यो गीत बारबार गाउन अनुरोध गर्थे। केही भने एउटै गीत दोहोर्‍याई–तेहेर्‍याई गाउने गायिका भन्दै उनलाई गिज्याउँथे।

एक दिन एउटा कार्यक्रममा एक अपरिचित दर्शकले त ‘तपाईंलाई त सम्हालेर राख गीतमा कहाँ–कहाँ कमा छ भन्ने पनि थाहा होला है’ भन्नसमेत भ्याए। उनलाई त्यसबेला रीस नउठेको होइन, तर त्यो एक प्रकारले सही पनि थिए।

आरशालामा आगामी पलेँटीको तयारी गर्दै शान्ति ठटाल । तस्वीरः रिवाज राई

उनी भन्छिन्, ‘जसरी अम्बर गुरुङ नौ लाख तारा गाउँदा गाउँदा हैरान भएका थिए, म पनि सम्हालेर राख  गाउँदा गाउँदा एक प्रकारले हैरान भइसकेकाे थिएँ।’

सम्हालेर राखबाट आफैं दिक्क भएपछि उनी त्योभन्दा लोकप्रिय गीत गाउन चाहन्थिन्। उनलेआँधीहुरी बतासहरु.. गाउनुको उद्देश्य नै सम्हालेर राखको लोकप्रियता उछिन्नु थियो। यो गीत पनि एकदमै लोकप्रिय भयो। तर,सम्हालेर राखको लोकप्रियता घटेन।

 पहिले सम्हालेर राखमात्रै गाउन अनुरोध गर्नेहरू अब उनलाई त्यो सँगै आँधीहुरी बतासहरू गाउन पनि अनुरोध गर्थे।

स्पिकरमा आफ्नै आवाज सुन्दा  

शान्ति ठटालका बुवा भजन गाउँथे। घरमै हार्मोनियम थियो। बुवा नभएको बेला उनी हार्मोनियम बजाइहाल्थिन्। उनको गला पनि निकै राम्रो थियो।

एक दिन उनी दिदीसँग घरमै थिइन्। घरछेउ सरस्वती पूजा समारोह भइरहेको थियो। समारोहमा लता मंगेशकरका गीतहरू बजिरहेका थिए। उनलाई लताको गीतले तान्यो। उनी र उनका दिदी सरस्वती पूजा भएको ठाउँमा पुगे। 

दिदीले सरस्वती पूजा समारोहका आयोजकहरूलाई भनिन् – मेरो बहिनीले पनि लताकै जस्तो स्वरमा गीत गाउन सक्छिन् नि! त्यसपछि त के, आयोजकहरूले शान्तिको हातमा माइक राखिदिए हाले।

उनले पनि बिना हिच्किचाहट लताका गीतहरू गाउन थाले। उनका गीत सुनेर सबै मन्त्रमुग्ध भए। त्यसबेलादेखि दार्जीलिङमा हुने हरेक साना–ठूला समारोह शान्ति ठटालबिना अधूरै हुन्थे।

तर, उनलाई सङ्गीतमै जीवन अर्पित गर्छु भन्ने थिएन। त्यो समयमा छोरीचेलीले घरबाहिर हिँडेको, मञ्चमा गाएको समाजले त्यति पचाउँदैन थियो। यसैले, उनका बुवा उनलाई सङ्गीतमा भन्दा पढाइमा ध्यान दिन कर गरिरहन्थे। कहिलेकाहीँ भजन गाउन भने छुट मिल्थ्यो। 

चाँदीको तक्मा पाउँदा

तर, शान्तिमा सङ्गीतको जुनून सवार भइसकेको थियो। एउटा नाटकमा पार्श्वगायन गरेबापत चाँदीको तक्मा पाएपछि त उनी झन् उत्साहित भइन्।

उनको स्वर र सङ्गीत चाहनेहरूको संख्या ठूलो हुँदै थियो। तर, उनलाई भने आफूमा केही अपूर्णता भएको महशुस भइरहेको थियो। किनकि, उनले त्यतिबेलासम्म लता मंगेशकरकै गीतहरू मात्र गाइरहेकी थिइन्।  आफ्नै गीतहरू गाएकी थिइनन्। 

उनले महशुस गरिन् – सधैंं लताको अनुकरण गरेर मैले आफ्नो परिचय बनाउन सक्दिनँ।

यसैले, सन् १९५७ देखि १९६१ सम्म  कोलकत्ताको रवीन्द्र भारती विश्वविद्यालयमा औपचारिक सङ्गीत सिकिन्। सधैं आमाको वरिपरि बस्ने लजालु छोरीको लागि परिवारबाट टाढा ४ वर्ष बिताउन सजिलो थिएन।

उनी भन्छिन्, ‘म प्रायः बिरामी भइराख्थेँ। लजालु पनि थिएँ। कसैले नाम सोध्दा पनि दिदीलाई यसो कुर्कुचाले ठेलेर मेरा नाम भन्देन भन्थेँ। 

तर, जति नै कमजोर र लजालु भए पनि उनले कोलकत्ता गएर संगीतको राम्रो ज्ञान लिएर आउँछु भन्ने दृढता गरिन्। कोलकत्ता त्यो बेला पनि अत्यन्तै व्यस्त सहर थियो। उनले त्यही व्यस्त दिनचर्यामा आफूलाई ढालिन्। आफू पनि कोलकते बनिन्। 

कोलकताबाट आएपछि उनको सङ्गत दार्जीलिङका मूर्धन्य सङ्गीतकारहरूसँग हुन थाल्यो। त्यो दार्जीलिङको स्वर्ण युग थियो। दार्जीलिङकै सङ्गीतकार र स्रष्टाहरूले नेपाली साहित्य–सङ्गीतमा पनि रङ भरिरहेका थिए। 

तर, त्यो बेलाको जस्तो आत्मीयता र भाइचारा अहिले नरहेको उनको अनुभव छ। उनी भन्छिन्, ‘अहिले डिजिटलको जमाना छ। गीत गाउन सजिलो छ। तर, पहिलेजस्तो सँगै बसेर गीत गाउनु पर्दैन। पहिले सँगै बसिन्थ्यो, गफ गरिन्थ्यो र एकअर्काबीच गहिरो आत्मीयता हुन्थ्यो।’
 

प्रकाशित मिति: १७:२३ बजे, शनिबार, जेठ ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्