Kathmandu Press

‘देशै परिवर्तन गर्छु भन्थ्यो, अनाहकमा आफैँ गयो’

काठमाडौं, जेठ : एचएको पढाइ पूरा गरेपछि ४८ वर्षीय विजय शाहीले छोरा प्रज्ज्वललाई लोकसेवाको तयारी गरेर

‘देशै परिवर्तन गर्छु भन्थ्यो, अनाहकमा आफैँ गयो’
काठमाडौं प्रेस

काठमाडौं, जेठ : एचएको पढाइ पूरा गरेपछि ४८ वर्षीय विजय शाहीले छोरा प्रज्ज्वललाई लोकसेवाको तयारी गरेर सरकारी जागिर खान सुझाएका थिए। आमा जानकी शाहीको पनि छोराले राजनीति छोडेर सरकारी जागिर खाए हुन्थ्यो भन्ने थियो।

तर, उनले आमाबुवालाई उल्टै सम्झाए। सरकारी जागिर नखाने प्रतिउत्तर दिए। ‘मलाई सरकारी कर्मचारी भएर एउटा कार्यालयमा बस्न मन छैन्। देशै परिर्वतन गर्ने काममा छु, राजनीति छोड्दिनँ,’ प्रज्ज्वले आमाबुवालाई भनेका थिए।

सामान्य घरपरिवार चलाइरहेका विजय र जानकीलाई पनि छोराले राम्रै गरिरहेको होला भन्ने लाग्यो। उनले भाइबहिनीलाई पनि बझाङबाट काठमाडौं ल्याएर पढाउन थालेपछि आमबुवालाई पनि ठीकै गरिरहेको छ भन्ने लागेको थियो।

Hardik ivf

तर, हिजो राति घट्टकुलोमा भएको बम विस्फोटमा २७ वर्षीय प्रज्ज्वलको मृत्यु भयो। यो खबर सञ्चारमाध्यम र आफन्तबाट सुनेका उनका आमाबुवा हिजोदेखि नै बेहोस छन्। ‘त्यो खबर सुनेपछि बेहोस भएका हुन्, आज पनि होसमा आएका छैनन्,’ उनका दाइ भुवन सिंहले भने।

बझाङको जयपृथ्बी नगरपालिका–१ कैलाशका प्रज्ज्वल गाउँमा भने सबैका प्रिय थिए। उनी पढाइमा पनि अब्बल थिए। कक्षा १० सम्म गाउँकै स्कुलमा पढेका उनी त्यसपछि काठमाडौं आएका थिए। २०६८ मा उच्च शिक्षाका लागि काठमाडौं छिरेका उनी काम गर्दै र पढ्दै गए।

किनकि उनको आर्थिक अवस्था राम्रो थिएन। उनका आमाबुवा गाउँमै किराना पसल चलाउँछन्। त्यसैबाट आएको पैसाले ६ छोराछोरीलाई पढाउँदै आएका थिए। ‘आयआर्ज केही छैन, ऋणदान गरेरै उसलाई पढाएको हो,’ प्रज्ज्वलका दाइ भुवनले भने।

जेठा प्रज्ज्वल नै हुन्। उनीभन्दा कान्छा पाँचको जिम्मेवारी पनि प्रज्ज्वलकै काँधमा थियो। त्यसैले स्कुल पढ्दादेखि नै उनी काम गर्दै आमाबुवालाई पनि सघाउने गरेका थिए।

काठमाडौं आएपछि भने आफू पनि काम गर्थे। एचए गरेपछि भाइबहिनीलाई पनि यहीँ ल्याएका थिए। आफूसहित चार भाइबहिनीको जोहो उनैले गर्दै आएका थिए।

तीन भाइबहिनीलाई काठमाडौं ल्याएपछि उनका आमाबुवा पनि खुशी थिए। उनी राजनीति गर्छन् भन्ने त थाहा थियो तर, के गरिरहेको छ भन्ने एकीन थिएन। गाउँमा छँदा पनि संस्थामा लागेर काम गर्ने भएकाले उनीहरूले त्यस्तै होला भन्ने सोचेका थिए।

उनका मामा नरेशचन्द्र सिंहले भने, ‘राजनीति गर्छ भन्ने सुनेका थियौं तर, पढाइ पनि राम्रो गरिरहेको र काम पनि गरिरहेकाले राजनीति गरेपनि ठीकै छ भन्ने थियो।’ दुई दिन अघि काठमाडौं आएका बसन्तले पनि हिजो बिहान फोन गरेर भेटौं भनेका थिए।

प्रज्ज्वलले साँझ भेटौला भन्ने जवाफ दिएका थिए। ‘तर, ऊ साँझ भेटघाट नहुँदै गयो,’ नरेशले भने, ‘यस्तो घट्ना होला भन्ने सोचेकै थिएनौं।’

आइतबार घट्टेकुलाेमा भएको बम विस्फोटमा प्रज्ज्वलसँगै तीन जनाको मृत्यु भएको छ।

उनको मृत्युकाे खबर गाउँबासीलाई पनि पत्याउन गाह्रो भएको छ। उनी गाउँमा मिलनसार थिए। सामाजिक काममा अघि सर्थे। उनको गाउँनै शोकमा डुबेको छ। प्रज्ज्वलको मृत्युको खबर पत्याउन आफूलाई समेत गाह्रो भएको उनका दाइ भुवन बताउँछन्।

गाउँ छँदा पनि उनी आफ्ना लागि भन्दा गाउँ-समाजका लागि सोच्ने गरेको भुवनको भनाइ छ। ‘राजनीति नगर, एचए गरिहालिस्, अब सरकारी जागिर खाऊ’ भनेर सुझाउदा प्रज्ज्वलले उल्टै आमाबुवालाई सम्झाएको प्रसङ्ग स्मरण गर्दै भुवनले भने, ‘देशै परिवर्तन गर्छु भन्थ्यो, अनाहकमा आफै गयो।’

 

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्