Kathmandu Press

फ्लाई दुबई प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखबाट क्षेत्रीलाई हटाउने तयारी 

काठमाडौं, चैत २८ : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई हटाउने तयारी गरेको छ । पटक–पटक गल्ति दोहोर....

फ्लाई दुबई प्रकरण : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखबाट क्षेत्रीलाई हटाउने तयारी 
फाइल फोटो

काठमाडौं, चैत २८ : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई हटाउने तयारी गरेको छ । पटक–पटक गल्ति दोहोर्‍याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धकबाट क्षेत्रीलाई हटाउने तयारी गरेको हो ।

एक सातामै आधा दर्जन घटना सार्वजनिक भएसँगै प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले क्षेत्रीलाई प्राधिकरणको मुख्यालय तान्ने तयारी गरेका छन् । क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई २४ घण्टे स्पष्टिकरण समेत बुझाएका छन् ।

Hardik ivf

खासगरी विभागीय प्रमुखहरुलाई २ वर्षसम्म सरुवा नगर्ने परम्परा छ । क्षेत्रीका विषयमा धेरै नराम्रा कुरा बाहिर आएपछि एक वर्षमै मुख्यालय तान्ने तयारी गरिएको हो ।
महाप्रवन्धक क्षेत्रीले स्पष्टिकरणमा यात्रुको मानवीयताले गर्दा ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि पनि उडान अनुमति दिएको उल्लेख गरेका छन् । क्षेत्रीले गत मंगलबार राति १० बजेर १७ मा फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उडान अनुमति दिएपछि उनलाई छुट्टा–छुट्टै स्पष्टिकरण सोधिएको थियो। 

क्षेत्रीले गत चैत १९ गते भने ४ मिनेट ढिलो हुँदा नेपाल एयरलाइन्सको दुबई उडानमा रोक लगाएका थिए । जसका कारण २ सय ७४ यात्रु रातभर जहाजभित्रै बस्न बाध्य भएका थिए । मन्त्रालय र प्राधिकरणले निगमको जहाज रोकेको विषयलाई जोडेर फ्लाई दुबईलाई किन उडान दिइएको भनेर प्रश्न सोधेका थिए । क्षेत्रीले स्पष्टिकरणमा नेपाल एयरलाइन्सको विमान रोक्दा आफू हङकङमा रहेको बताउँदै फ्लाई दुबईलाई भने उडान अनुमति आफैले दिएको स्वीकारेका छन् ।

क्षेत्री प्रमुख भएपछि विमानस्थल अव्यवस्थित बन्दै गएको निष्कर्ष समेत मन्त्रालय र प्राधिकरणले निकालेको छ। ‘अब क्षेत्रीलाई मुख्यालय तानेर छानविन गर्नु पर्छ। विषयहरु धेरै बाहिर आएका छन्,’ प्राधिकरण स्रोतले भन्यो। बुधबारमात्रै निगमको जहाज ११ घण्टा ढिलो गरी उडान गरेको थियो भने जेट एयरवेज तेलविना उडान भर्ने तयारीमा थियो। 

नोटाम जारी भएको अवस्थामा विमानस्थलमा आकस्मिक उडान अवतरणका साथै थप उडान गर्नुपरेमा प्राधिकरणका महानिर्देशकको अनुमति लिएर मात्रै गर्नुपर्ने हुन्छ। तर,  विमानस्थल कार्यालयले नेपाल एयरलाइन्सको जहाज रोक्दा र फ्लाई दुबईको जहाजलाई उडान अनुमति दिँदा प्राधिकरण महानिर्देशकसँग अनुमति लिएको थिएन। 
मंगलबार राति १० बजेर १७ मिनेटमा फ्लाई दुबईको बोइङ–७३७ विमान विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान भर्न दिइएको थियो। फ्लाई दुबईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका राखेको थियो।

तर, एक साता अघि निगमको काठमाडौं–दुबई उडानका लागि विमानस्थल व्यवस्थापनसँग ४ मिनेट थप गरी उडान भर्ने अनुमति माग्दा विमानस्थलले अनुमति दिएको थिएन।  निगमको गत १९ गते मंगलबार राति ९ः१५ मा भएपनि त्रिभुवन विमानस्थलले १० बजेसम्म पनि निगमको विमानलाई उडान भर्ने अनुमति दिएको थिएन। 
 

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, चैत २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्