Kathmandu Press

हसाउँन हरिपहरू

माघ महिनाको अन्तिम बिहीबार । कुपण्डोलको एउटा बार ग्राहकले भरिएको थियो । हात–हातमा पेय पदार्थ लिएर चुस्की लिइरहे

 हसाउँन हरिपहरू
काठमाडौं प्रेस इलुस्ट्रेशन

माघ महिनाको अन्तिम बिहीबार । कुपण्डोलको एउटा बार ग्राहकले भरिएको थियो । हात–हातमा पेय पदार्थ लिएर चुस्की लिइरहेका ग्राहकको अगाडि एउटा होचो र गोलाकार मञ्च बनाइएको थियो ।

बाक्लो दाह्री पालेका एक दुब्ला युवक झोला भिरेर मञ्चमा उक्लिए । र,  झोलाबाट तरकारीको पोको निकालेर केलाउँदै नजिकै बसिरहेकी एउटी युवतीसँग जिस्किन थाले – ‘हेर, म बिहेअघि यसरी तरकारी केलाउँछु, बिहेपछि छोराछोरी खेलाउँछु !’

उनी थिए, अपूर्व क्षितिज सिंह । चौधरी ग्रुपमा चार्टड अकाउन्टेन्टको काम गर्ने यी २५ वर्षीय युवक स्ट्यान्डअप कमेडी पनि गर्छन् । त्यो बिहीबार साँझ उनको पछिल्लो प्रस्तुति थियो, जहाँ उनले एक विवाहित युवतीलाई आफूसँग विहे गर्न मनाउँने असफल प्रयत्न गर्दै सारा दर्शकलाई पेट मिची–मिची हँसाए ।अपूर्व क्षितिज सिंह

Hardik ivf

अपूर्व अहिले काठमाडौंमा सर्वाधिक रुचाइएका स्ट्यान्डअप कमेडियनमध्ये एक हुन् । नेपालमा पोर्न साइटहरू बन्द गरिएपछि उनले सरकारलाई व्यङ्ग्य गर्दै एक प्रस्तुति दिएका थिए, जुन यूट्यूबमा सर्वाधिक हेरिएको नेपाली स्ट्यान्डअप कमेडी हो । 

आफ्नो पछिल्लो प्रस्तुतिमा पनि अपूर्वले आफ्नो भाइरल भिडियोको प्रसङ्ग निकाल्दै दर्शकलाई गलल हँसाए – ‘अर्चना पनेरुको पनि म्यासेज आयो...तपाईंको पोर्न भिडियो हेरेको...मेरोभन्दा दामी छ रे...लेट्स कोल्याब (सहकार्य गरौँ) रे !’

अपूर्व सम्वद्ध रहेको कमेडी सर्कलले हरेक मङ्गलबार साँझ लाजिम्पाटको अल्पाज रेष्टुरेण्ट र बिहीबार साँझ कुपण्डोलको समे बारमा कमेडी शोको आयोजना गर्छ, जसको मज्जा लिन ग्राहकको भीड लाग्छ ।

लेखमणि त्रिताल

पहिले–पहिले रेष्टुरेण्ट तथा बारमा मदिराको चुस्की लिँदै गीत–गजल सुन्ने र नृत्य हेर्ने नेपालीहरू अहिले स्ट्यान्डअप कमेडीमा पल्किन थालेका छन् । अपूर्व र अन्य स्ट्यान्डअप कमेडियनहरू प्रेम र पोर्नजस्ता ‘सेक्सी’ विषयमा मात्र होइन, देश, राजनीति, जातीय पहिचान र लैङ्गिक हिंसाजस्ता गम्भीर एवं संवेदनशील विषयमा पनि स्ट्यान्डअप कमेडी गर्छन् । 

अपूर्व भन्छन्, ‘म हल्काफुल्का विषयमा भन्दा पनि राजनीति र धर्मजस्ता संवेदनशील विषयमा स्ट्यान्डअप कमेडी गर्न मन पराउँछु, तर नेपाली समाजले यस्ता पेचिला विषय अझै पचाउँदैन रहेछ !’

केही महिनाअघि अपूर्वले आफ्नै मधेसी पहिचानको विषयमा एक व्यङ्ग्यात्मक प्रस्तुति दिएका थिए – ‘...दाइजो नल्याउँने बुहारीमाथि पेट्रोल छर्कने चलन छ, तर सरकारले पेट्रोलको दामै बढाएर अत्याचार गर्‍याे ।’ 

कुशल सिंह राठौर

त्यो प्रस्तुतिपछि धेरैले सामाजिक सञ्जालमा अपूर्वको आलोचना गरे । कति त गालीगलौजमै उत्रिए । त्यसपछि उनी त्यस्ता संवेदनशील विषयमा प्रस्तुति दिन हिच्कचाउँछन् । 

उनी कलेज पढ्दादेखि नै साथीहरूलाई हँसाइरहन्थे । उनी चुट्किलाभन्दा पनि आफू र आफ्ना साथीलाई मजाकको पात्र बनाउँदै अरुलाई हसाउँथे । तर, कुनै दिन मानिसहरू पैसा तिरेर आफ्नो ठट्टा सुन्न तयार होलान् भन्ने सोचेकै थिएनन् । 

उनी भन्छन्, ‘दर्शकसँग आँखा जुधाएर लगातार हँसाउन सक्छु भन्ने आत्मश्विास पहिले थिएन, अहिले छ । ’ 

सुजन जिम्बा लामा

कला र व्यवसाय

कमेडी सर्कल  स्थापना भएको धेरै भएको छैन । डेड वर्षअघिको मात्रै कुरा हो, भ्यूफाइन्डर्स प्रोडक्शन कम्पनीका संस्थापक अनुप घिमिरे एक दिन काठमाडौंको आर्मी अफिसर्स क्लबमा एउटा स्ट्यान्डअप कमेडी शो हेर्न पुगेका थिए । त्यहाँ सबै प्रस्तुति भारतीय कमेडियनहरूको थियो । 

भारतीयहरूको प्रस्तुति हेर्दा उनी हाँस्न त हाँसे, तर मन चाहिँ अमिलो भइरह्यो । किनकि, त्यहाँ एक जना पनि नेपाली स्ट्यान्डअप कमेडियन थिएन ।

भोलिपल्ट उनले साथी सुरज खड्गीसँग नेपाली कमेडी क्लब खोल्ने प्रस्ताव राखे । २८ वर्षीय अनुप र २६ वर्षीय सुरजले पाँच वर्षदेखि भ्यूफाइन्डर्स कम्पनी मार्फत अरुका लागि डिजिटल कन्टेन्ट बनाउँने काम गर्दै आएका थिए । उनीहरू हरेक दिन त्यही काम गर्दा दिक्क भइसकेका थिए । उनीहरू दुबैलाई केही नयाँ गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । यसैले, कमेडी क्लब सुरु गर्ने विषयमा अनुप र सुरजको मत मिल्यो । विशाल गौतम

 

अहिले कमेडी सर्कलमा अपूर्वमात्र होइन, धेरै स्ट्यान्डअप कमेडियनहरू छन् । अपूर्वलगायत पाँच जनासँग त कमेडी सर्कलले नियमित प्रस्तुतिका लागि व्यवसायिक सम्झौता नै गरेको छ । यी युवा स्ट्यान्डअप कमेडियनहरूले अन्य कतिपय परम्परागत हाँस्य कलाकारहरूले झै मुख बिगारेर, महिलालाई होच्याएर, अरुको शारीरिक बनौटको खिल्ली उडाएर र भद्दा जोक्स भनेर दर्शकलाई हसाउँदैनन् । 

उनीहरू युवाको मनोदशा, देशको दुरावस्था र महिलाले भोग्नुपरेको विभेदप्रति टिप्पणी गर्छन् । 

लुनिभा तुलाधर

अनुप र सुरजका लागि कमेडी सर्कल व्यापारमात्र होइन, कला पनि हो । अनुप भन्छन्, ‘जसरी नेपालका गायक र अभिनेताहरू देश–विदेश डुलेर प्रस्तुति दिन्छन्, त्यसरी नै स्ट्यान्डअप कमेडियनहरूले पनि देश–विदेश गएर प्रस्तुति दिने दिन आउँछ ।’

स्ट्यान्डअप कमेडीको आत्मा भनेकै दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया हो । यसैले, कमेडी सर्कलले आफ्ना सबै प्रस्तुतिको भिडियो यूट्युबमा हाल्दैन । अनुप भन्छन्, ‘साँच्चै स्ट्यान्डअप कमेडीको मज्जा लिने हो भने त प्रत्यक्ष नै हेर्नुपर्छ ।’

स्ट्यान्डअप कमेडी जति लोकप्रिय हुँदैछ, त्यति नै कमेडी क्लबहरू पनि थपिँदैछन् । अहिले कमेडी सर्कलसँगै नेप–ग्याजम्  र नेक्सस् कल्चर नेपालले पनि कमेडी शो गर्न थालेका छन् । यी क्लबले पनि आफ्ना केही प्रस्तुति युट्यूबमा राखेका छन् । तर, नेक्सस् कल्चर  विशुद्ध कमेडी क्लब होइन । यसमा नेपाली तथा विदेशी प्रतिभाहरूले ठट्टामात्रै गर्दैनन्, गीत र कविताहरू पनि सुनाउँछन् । 

नेप–ग्याजम्  चाहिँ सुरुमा मनोरञ्जनात्मक भिडियो अपलोड गर्ने यूट्युब च्यानलको रुपमा खुलेको थियो । तर, जब नेप–ग्याजम् का शरद श्रेष्ठले लेखमणि त्रिताललाई भेटे, तब उनको प्रतिभालाई पनि प्रस्फुटन हुन दिनुपर्छ भन्ने सोंचले स्ट्यान्डअप कमेडी गर्न थालियो । नमूना गिरि

अहिले त्रितालसँगै, डोरेस खतिवडा, सरोज भण्डारी, विवेक उप्रेती र उमेश कुमार गौतम पनि नेप–ग्याजम् मा जोडिएका छन् । श्रेष्ठ भन्छन्, ‘हामी नयाँ कमेडियनहरू अडिसनबाट मात्रै छान्छौँ, कतिको प्रतिभा तिखार्न पनि मद्दत गर्छौँ ।’

टप फाइभ

सर्वाधिक हेरिएको कुनै एक भिडियोको हिसाब गर्ने हो भने अपूर्व अहिले नेपालका नम्बर एक युवा स्ट्यान्डअप कमेडियन हुन् । पोर्न प्रतिबन्धबारेको उनको प्रस्तुति यूट्युबमा झण्डै १४ लाखले हेरिसकेका छन् । उनी प्रेम, सम्बन्ध, मधेस र सामाजिक विषयबस्तुमा प्रस्तुति दिन्छन् । 

गाँजा विषयको स्ट्यान्डअप कमेडीका कारण लेखमणि त्रिताल दोस्रो नम्बरमा छन् । नेप–ग्याजम् सँग आवद्ध उनको गाँजा विषयको कमेडी झण्डै १० लाखले हेरेका छन् । उनी गाँजाबाहेक राजनीति र देशको अवस्थाबारे पनि प्रस्तुति दिन्छन् ।

कमेडी सर्कलकै कुशल सिंह राठोर तेस्रोमा छन् । उनको नेपालमा भारतीय नागरिक विषयक प्रस्तुति झण्डै आठ लाख पटक हेरिसकिएको छ । सुजन जिम्बा लामा चौथोमा आउँछ । उनको देउसीमा भेटेको केटीविषयक प्रस्तुति झण्डै सात लाख पटक हेरिएको छ । नेपालमा बाइकर्स नामक प्रस्तुतिका कारण विशाल गौतम पाँचौ स्थानमा छन् । उनको यो प्रस्तुति झण्डै ६ लाख पटक हेरिएको छ । 

महिला पनि 

अधिकांश क्षेत्र र पेशामा झै नेपाली स्ट्यान्डअप कमेडीमा पनि महिलाभन्दा पुरुषकै बाहुल्य र बर्चस्व छ । तर, केही महिला स्ट्यान्डअप कमेडियनहरूको पनि लोकप्रियता र प्रभाव बढ्दो छ ।

कमेडी सर्कलका नमूना गिरि र सञ्जु कटवाल यसका उदाहरण हुन् । उनीहरूको पनि दर्शकलाई हसाउँने आफ्नै विशेष शैली छ । नेप–ग्याजम्की योजना थापा मगरले पनि राम्रो सम्भावना देखाइरहेकी छिन् । 

कुनै बेला पवनकलीको रुपमा चर्चित थिएटर आर्टिस्ट लुनिभा तुलाधरले आफ्नो मोटो शरीर र त्यसप्रति आफन्त र समाजले देखाउँने अनावश्यक रुचिको विषयमा दिएको प्रस्तुतिले पनि यूट्युबमा बिस्तारै लोकप्रियता हासिल गर्दैछ । अन्य महिला स्ट्यान्डअप कमेडियनहरूले पनि बडी शेमिङको विषय समेट्ने गरेका छन् ।  

सगरमाथा चढेर चर्चाको शिखरमा पुगेकी पूर्व पत्रकार शैली बस्नेतले पनि आक्कल–झुक्कल नेपालमा स्ट्यान्डअप कमेडी गर्छिन् । तर, उनी काठमाडौंमा भन्दा न्यूयोर्कमा बढी लोकप्रिय छिन् । उनले गत वर्ष म्यानहटनको ब्रोडवेमै स्ट्यान्डअप कमेडी गरेकी थिइन् । 

प्रकाशित मिति: १२:१८ बजे, शनिबार, फागुन ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्