Kathmandu Press

प्रतिरोध क्षेत्रबाट बजार केही सच्चिँदै, अब के होला?

काठमाडौं, चैत २६ :  सोमबार जस्तै अन्तिम समयमा आएका बिक्रीकर्ताले गर्दा बजारमा गिरावट आएको देखिन्छ। बजारले मंगलबार पनि १२०० को मनोवैज्ञानिक प्रतिर....

प्रतिरोध क्षेत्रबाट बजार केही सच्चिँदै, अब के होला?

काठमाडौं, चैत २६ :  सोमबार जस्तै अन्तिम समयमा आएका बिक्रीकर्ताले गर्दा बजारमा गिरावट आएको देखिन्छ। बजारले मंगलबार पनि १२०० को मनोवैज्ञानिक प्रतिरोधलाई तोड्न सकेन।  बजार आज सामान्य टेवा क्षेत्रमा बन्द भएको छ।

आज साताको तेस्रोे कारोबार दिन मंगलबार नेप्से परिसूचक १० दशमलव ५८ अंकले घटेर ११८१ दशमलव १० को विन्दूमा पुगेको छ।  आज दोस्रो बजार परिसूचक ० दशमलव ८९ प्रतिशतले घटेकोे छ। आज दोस्रो बजार ११९१ दशमलव ६८ को विन्दूमा खुलेको थियो भने ११९४ दशमलव ६२ को उच्च विन्दूसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दू ११८० थियो। आज दिनभरमा ७३ करोड ५१ लाख बराबरको शेयर किनबेच भएको छ। नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ। आज टप ५ कारोबार हुने कम्पनीमा २ वटा कम्पनीको संस्थापक शेयर  सूचीमा परेका छन्।  कुमारी बैंकको ५ करोड ७७ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ भने गरिमा विकास बैंकको ३ करोड ८४ लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ।

Hardik ivf

आजको बजारको अवस्था : 

आज सर्वाधिक कारोबार हुने :

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेको इन्स्योरेन्सको ६ करोड ४१ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने :

आज नेपाल कम्युनिटी डेभेलपमेण्ट बैंकका शेयरधनीले सर्वाधिक ९ दशमलव ५२ प्रतिशतले कमाए भने र जोशी हाइइ्रोपावरका शेयरधनीले सर्वाधिक ८ दशमलव १२ प्रतिशतले गुमाए।

भोलिका प्रमुख गतिविधि
-चैत २७ गते काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले विशेष साधारण सभा बोलाएका छन्। मर्जर हुने विशेष प्रस्ताव पारित गर्नलाई दुबै कम्पनीले विशेष साधारण सभा बोलाएका हुन्।  

लाभांस गतिविधि
-कामना सेवा विकास बैंकको सञ्चालक समितिको बैठकले १ दशमलव ५० प्रतिशत बोनस शेयर ८ प्रतिशत नगद लाभांस गरी जम्मा ९ दशमलव ५० प्रतिशत लाभांस प्रस्ताव गरेको छ। प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाए पश्चात कम्पनीको आर्थिक वर्ष ०७४-७५को साधारण सभाबाट अनुमोदन भए पश्चात लगानीकर्ताले प्राप्त गर्ने छन्।

कारोबार रोक्का 
- लाभांस सम्बन्धी निर्णय नेप्सेलाई जानकारी गराउन विलम्ब गरेपछि नेपाल स्टक एक्सचेन्जले कामना सेवा विकास बैंकको शेयर कारोबार रोक्का गरेको छ। नेप्सेले कामना सेवालाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न पनि निर्देशन दिएको छ।

शेयर सूचीकरण

-आज नेप्सेमा आरएसडीसी लघुवित्त, रिडी हाइड्रोपावर र आरएमडीसी लघुवित्तको बोनस शेयर सूचीकृत भएका छन्। आरएसडीसी लघुवित्तको ५ लाख ७५ हजार ९ सय २० कित्ता, रिडी हाइड्रोपावरको ३ लाख ६ सय ३३ कित्ता र आरएमडीसी लघुवित्तको ७ लाख २६ हजार ७ सय २६ कित्ता बोनस शेयर सूचीकृत भएका छन्।

प्राथमिक बजार गतिविधि

-सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो।

- सरकारले हालै मात्र ‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटेका दुई आयोजना साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले वैशाख ६, २०७६ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएका छन्। साञ्जेनले सर्वसाधारणलाई ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्दैछ भने रसुवागढी हाइड्रोपावरले सर्वसाधारणलाई ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर  निष्काशन गर्दैछ।

साञ्जेन जलविद्युतको आइपीओमा न्यूनतम ५० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन मिल्ने छ भने रसुवागढीमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। दुबै कम्पनीको आइपीओमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने छ। सो  अवधिमा माग अनुसार आवेदन नपरेमा भने जेठ ५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।  

प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम २६ चैत, २०७५ मा  बजार ११८१ दशमलव १० विन्दूमा बन्द भएको छ। यो अघिल्लो कारोबार दिनभन्दा शून्य  दशमलब ८९ प्रतिशतले कम हो। आजको मैनबत्तीले बजारमा क्रेताभन्दा बिक्रेताको चाप बढी भएको संकेत गरेको छ। हिजो र आज मैनबत्तीहरुले बियरिस एन्गल्फिङ्ग आकृति बनाएको छ। यसले बजारमा मागभन्दा आपूर्ति बढ्न सक्ने संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
 
चित्र नं.२, हिजो र आजको बजारको उतारचडाब हेर्नलाई ५ मिनेट समयावधि मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। हिजो नेप्से प्रवृत्ति र सूचकहरुले बजारमा बिक्रेताको चाप हुन सक्ने संकेत गरे अनुसार आजको अन्तिम कारोबार समयमा बिक्रेता हावी रहेको देखिन्छ। हाल बजार ११८० को सामान्य टेवा क्षेत्रमा रहेको छ।  हिजो र आजको नेप्से प्रवृत्तिले घट्दो च्यानलमा बजार उतारचडाब भएको र कारोबार समयको अन्तिम १ घण्टामा बजारले च्यानलको तल्लो प्रवृत्ति रेखालाई तोडेको छ। यसले बजारमा मागभन्दा आपूर्ति बढी हुन सक्ने संकेत गरे अनुसार बजार केही सच्चिएको छ। 

६ र २१ समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले कारोबारको अन्तिम समयमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी बिक्री भएको जनाएको छ।

निष्कर्ष : माथिको छोटो समयका नेप्से प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। त्यसैले बजार प्रवेश गर्न अघि जोखिम कम गर्नलाई नेप्से प्रवृत्ति र सूचकहरुको सकारात्मक संकेत पर्खनु उचित देखिन्छ। हालको तत्कालीन प्रतिरोध च्यानलको तल्लो प्रवृत्ति रेखा रहेको देखिन्छ भने हाल बजार ११८० को सामान्य टेवा क्षेत्रमा रहेको र अर्को तत्कालिन टेवा ११७० देखि ११७५ को क्षेत्रमा रहेको देखिन्छ। 

 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, चैत २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्