निगमको वाइडवडी जहाजले असार १९ देखि जापानको ओसाका उडान भर्ने
काठमाडौं, चैत २५ : नेपाल वायुसेवा निगमले आगामी असार १९ गतेदेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ। वाइडवडी जहाज खरिद गरेको एक वर्षपछि ब....

काठमाडौं, चैत २५ : नेपाल वायुसेवा निगमले आगामी असार १९ गतेदेखि काठमाडौं–ओसाका उडान भर्ने भएको छ। वाइडवडी जहाज खरिद गरेको एक वर्षपछि बल्ल जापानको ओसाका उडान भर्ने निश्चित भएको हो।
निगमले लामो गन्तव्यमा सिधा उडान गर्न गत असार र साउन महिनामा एयरबस ३३०–२०० सिरिजका दुई थान जहाज खरिद गरेका थियो। जापान उडानका लागि आवश्यक सम्पूर्ण कागजपत्र जापनको उड्डयन प्राधिकरणले सोमबार निगमलाई उडानको अनुमति दिएको हो। निगमले आगामी जुलाई ४ अर्थात असार १९ गते पहिलो उडान भर्ने अनुमति पाएको निगम स्रोतले जनाएको छ।
निगमले साताको तीन दिन ओसाका विमानस्थलमा उडान गर्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको जनाएको छ। निगमले साताको मंगलबार, बिहीबार र शनिवार उडान गर्नेछ। निगमले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि आवेदन दिएको छ। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको थियो। गत साता नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान अनुमति पत्र (एओसी) तीन महिना अगाडि नै जारी गरेको थियो। निगमले खरिद गरेका दुई थान एयरवस ३३०–२०० वाइडवडी सिरिजका गन्तव्य नहुँदा छोटो दूरीमा उडान भर्दै आएको छ।
निगमले सन् १९९४ देखि सन् २००७ सम्म सातामा दुई उडान गरेको थियो। जहाज अभाव हुँदै गएपछि आर्कषक मानिएको जापानको गन्तव्य निगमले गुमाएको थियो। विगतमा निगमले हाल रहेको बोइङ ७५७ सिरिजको न्यारोवडी जहाज मार्फत ओसाका उडाउँदै आएको थियो। नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावोलकन भएको थियो। हवाई सम्झौतासँगै नेपाल र जापनबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति छ। यसअघि सातामा २ वटा मात्रै उडान गर्न पाउने सम्झौता थियो।
नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सहमति भएपनि जापनले उडान अनुमति दिएको थिएन। जापानमा नेपाली विद्यार्थी तथा रोजगारी भिषामा वर्षेनी हजारांै जाने गरेका छन्। हाल १ लाख भन्दा बढी नेपालीहरु जापानमा रहेको अनुमान छ। जपानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापनिज पर्यटकको संख्या समेत बढ्न सकेको छैन।
नेपालमा जापानबाट सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएका छन्। सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार ४ सय १२ पर्यटक नेपाल भित्रिएकोमा सन् २०१७ मा पनि २७ हजार ३ सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन्। निगमसँग हाल दुई थान वाइडवडी, दुई थान एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एक थान बोइङ ७५७ सिरिजको न्यारोवडी जहाजमार्फत ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।











-1754206481.jpg)