Kathmandu Press

कविता हत्या प्रकरण: १० महिनादेखि न्याय खोज्दै परिवार 

कञ्चनपुर, चैत २५ :  कृष्णपुर नगरपालिका–८ शान्तिपुरका ४२ वर्षीय कर्णबहादुर विष्ट न्यायको खोजीमा भौतारिरहेका छन्। उनकी १७ वर्षीया छोरी क....

कविता हत्या प्रकरण: १० महिनादेखि न्याय खोज्दै परिवार 
सांकेतिक तस्वीर

कञ्चनपुर, चैत २५ :  कृष्णपुर नगरपालिका–८ शान्तिपुरका ४२ वर्षीय कर्णबहादुर विष्ट न्यायको खोजीमा भौतारिरहेका छन्। उनकी १७ वर्षीया छोरी कविताको हत्या भएको १० महिना बिते पनि न्याय पाउने आशा नमरेको कृष्णबहादुरले बताए।  

कविताका बुबा कर्णबहादुरलाई मुद्दाका लागि आवश्यकपर्ने प्रमाण पर्याप्त जुटाउन नसक्दा पक्राउ परेका अभियुक्तमाथि कम सजाय हुनसक्नेमा चिन्तित बनाएको छ। “हत्यालाई आत्महत्या बनाउने प्रयास गरिएको छ”, उनले भने, “हातको छाप नलागोस् भनेर शवलाई जमीनमुनि गाड्दा अभियुक्तले सावधानीपूर्वक पातले समातेर राखेको देखिएको छ, वर्षात्को भेलले शव बाहिर निकालेपछि स्याललगायतका जनावरले खाएको अवस्थामा शव फेला परेको थियो।”

यस्तो अवस्थामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा पर्याप्त प्रमाण जुटाउन नसकेको उनको भनाइ छ। कविताको हत्यामा संलग्न रहेका भनिएका कृष्णपुर–२ का मदन गिरी र भरत बोहरा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा छन्। पक्राउ परेका दुवै अभियुक्तमाथि अपहरण, जबर्जस्तीकरणी र ज्यान मुद्दा लगाइएको छ। तीनवटै मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन्।

Hardik ivf

गिरीसँगै कवितालाई जान लागेको देखेपछि स्थानीयको खबरले गिरी पक्राउ परेका हुन्। “पक्राउपछि गिरीले घटनास्थल देखाएर कविताको कपडाका आधारमा भेटिएको शवको कङ्कालबाट छोरीकै शव रहेको भनेर पहिचान भएको हो”, कृष्णबहादुरले भने।     

नगरपालिकाको लालझाडी मोहना संरक्षण वनको अमखैया भन्ने ठाउँमा कविताको गत असार ३१ गते हत्या गरी शव माटोमुनि गाडिएका अवस्थामा फेला परेको थियो। घरबाट किताब खरीद गर्न गत असार २६ गते कैलालीको अत्तरीया जान्छु भनी गएकी कविताको शव परिवारजनले आमखैयाको खोलामा गाडिएको अवस्थामा गिरीको बयानका आधारमा छ दिन प्रहरीले पछि फेला पारेको थियो। 

गिरीलाई प्रहरीले शुक्लाफाँटा नगरपालिका–८ को फुलेलीमा ससुरालीमा रहेकाबेला र बोहरालाई भीमदत्तनगरपालिकाको महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेको थियो। प्रहरीलाई दिएको बयानमा उनीहरुले कविताको सामूहिक बलात्कारपछि हत्या गरेर खाल्डोमा पुरेको भनेर जिल्ला प्रहरीले तत्कालीन समयमा गरेको पत्रकार सम्मेलनमा भने पनि अदालतमा पेश गर्दा प्रहरीले आत्महत्या भनेर अनुसन्धान प्रतिवेदन बुझाएको बताइएको छ। 

हत्यालाई आत्महत्या बनाइ मुद्दालाई अन्यत्रै मोडने कार्य नहोस्, अपराधीमाथि हदैसम्मको कारवाही गरियोस्”, कर्णबहादुले भने। तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले अनुचित प्रभावमा परेर कविताको हत्यालाई आत्महत्या भनेर अदालतमा पेश गरेको उनको आरोप छ।

न्यायका लागि प्रदेशदेखि केन्द्र सरकारसँग गुहार 

न्यायकै लागि कृष्णबहादुरले प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म गुहार मागिरहेका छन्। प्रदेशसभा सदस्यदेखि प्रतिनिधिसभाका सांसदहरुको हस्ताक्षर गरेर गृह मन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवलाई भेटेर ज्ञापनपत्र बुझाएको कर्णबहादुरले बताए। “राहत रकम उपलब्ध गराइदिन र छोरीका हत्यारामाथि हदैसम्मको कारवाहीका लागि ज्ञापनपत्र बुझाएको छु”, उनले भने, “आश्वासनबाहेक हालसम्म केही पनि पाइएको छैन।” 

प्रदेश सरकारको राहतले मुद्दा लड्नमै ठिक्क

प्रदेश सरकारले दिएको पाँच लाख रूपैयाँ राहत रकमले कृष्णबहादुरले कविताको न्यायका लागि मुद्दा लड्नमै ठिक्क भएको बताए। कैलालीस्थित लक्ष्मी कत्था उद्योगमा काम गर्दै आएका कर्णबहादुरको जागिर कविताको मुद्दा लड्नमै समय बितेपछि छुटेको छ।
 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, चैत २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्