Kathmandu Press

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: आयोगले बुझायो प्रारम्भिक प्रतिवेदन, मौसम विभाग भन्छ-‘स्याटेलाइट क्लाउड’ 

काठमाडौं, चैत २४ : ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रारम्भिक प्रतिवेदन ....

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: आयोगले बुझायो प्रारम्भिक प्रतिवेदन, मौसम विभाग भन्छ-‘स्याटेलाइट क्लाउड’ 
फाइल फोटो

काठमाडौं, चैत २४ : ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनापछि गठित जाँचबुझ आयोगले प्रारम्भिक प्रतिवेदन बुझाएको हो।

गत फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा एयर डाइनेष्टीको एएमआई अल्फा माइक इन्डिया कल साइनको हेलिकप्टर दुर्घटना हुँदा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो। जाँचबुझ आयोगका एक सदस्यले काठमाडौं प्रेसलाई दिएको जानकारी अनुसार गत शुक्रबार प्रतिवेदन बुझाएको हो। ‘अहिले ठोस कुनै कारण उल्लेख गरिएको छैन, घटनाको विवरण मात्रै बुझाएका छौँ,’ ती सदस्यले भने।

Hardik ivf

दुर्घटनाका विषयमा कुनै पनि ठोस कारण उल्लेख नगरी घटनाको विवरणमात्रै समावेश गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवेदन बुझाइएको हो। ‘प्रारम्भिक प्रतिवेदनमा अन्य कुनै विषय उल्लेख नगरेपनि मौसम खराबीका  विषय भने कोड भाषाको प्रयोग गरेका छाैं,’ ती सदस्यले भने। दुर्घटनाकै दिन सरकारले दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। 

गौतमसहित समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्। उक्त समितिले गत मन्त्रिपरिषद् कार्यालयमा प्रारम्भिक प्रतिवेदन पेश गरेको हो। अन्तिम प्रतिवेदन भने जेठ १५ सम्म दिने समयसीमा तोकिएको छ। 

दुर्घटनामा मन्त्री अधिकारीसहित, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव युवराज दाहाल, मन्त्रीका अंग रक्षक अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो। 

मौसम विभागले भन्यो–‘स्याटेलाइट क्लाउड’ 

मौसम विभागले हेलिकप्टर दुर्घटना जाँचबुझ आयोगलाई ‘स्याटेलाइट क्लाउड’ रहेको उत्तर पठाएको छ। विभागले गत आइतबारमात्रै आयोगलाई मौसम विभागले मौसम पूर्णरुपमा बिग्रिएको तथ्यांक पठाएको छ। विभागसँग आयोगले पत्र पठाएर उक्त दिनको त्यसक्षेत्रको मौसमको विवरण मागेको थियो। विभागले प्रारम्भिक प्रतिवेदन बुझाएको दुई दिनपछि मात्रै विवरण पठाएको हो। ‘विभागले उल्लेख गरेको विषय अन्तिम प्रतिवेदनमा उल्लेख गर्ने छाैं,’ आयोगका ती सदस्यले भने। 
 

प्रकाशित मिति: १९:३१ बजे, आइतबार, चैत २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्