हराभरा चिया बगान, निरास चिया मजदुर
विर्तामोड, चैत २४ झापाको बुट्टाबारीस्थित गिरीबन्धु टी–स्टेटकी मजदुर हुन्– पदमा कोइराला । उनी दुई दशक भयो त्यहाँ काम गर्न थालेको । ४०....

विर्तामोड, चैत २४ झापाको बुट्टाबारीस्थित गिरीबन्धु टी–स्टेटकी मजदुर हुन्– पदमा कोइराला । उनी दुई दशक भयो त्यहाँ काम गर्न थालेको । ४० वर्षीया उनलाई एक्लैको कमाइले बिहान–बेलुकी चुलोमा आगो बाल्नै धौ–धौ छ।
मीठोमसिनोको कुरा निस्कनेबित्तिकै उनले भनिन्, ‘कहाँबाट मीठोमसिनो खान पुग्नु, यो उमेर भो, बास्मती चामलको बासना पनि थाहा छैन मलाई । एक जनाको कमाइले टाक टार्नै मुस्किल छ।’
एक्लैको मजदुरीले दैनिक छाक टार्नेदेखि औषधोपचार खर्चसम्म पुर्यानुपर्ने बाध्यता छ उनको । उनले भनिन्, ‘बामपन्थी सरकार आएपछि मजदुरको दिन फेरिन्छ भन्थे । तर खै ! यो पनि गुम्छ कि भन्ने लाग्न थालेको छ।’
उपचार गर्नसमेत स्वास्थ्य चौकीको भर पनुपर्ने बाध्यता छ । उनले भनिन्, ‘स्वास्थ्यचौकीको औषधिले काम गरेन भने मात्र अरु सस्तो अस्पताल जान्छौँ।’
त्यस्तै अर्का मजदुर पासाङ तामाङ पनि आफ्नो कमाइले परिवार चलाउन धौ–धौ पर्ने बताउँछन् । ‘घर बाहिर गएर मिठो खाएको भनेको चाउमिन मःम मात्र हो । त्योभन्दा अरु खानेकुरा त हामी मजदुरहरुका लागि बनेकै होइन जस्तो लाग्छ,’ उनले भने, ‘चिया उद्योगीहरुले महल, गाडी र अर्को कम्पनी जोडेका जोडै छन् तर पनि घाटा भयो भन्न छाड्दैनन्।’
गत वर्ष साउनमा नै सरकारसँग समझदारी भएर ज्याला तेकिएको थियो मजदुरको । तर, आठ महिना बितिसक्दा पनि कार्यान्वयन नभएको दुखेसो उनले गरे।
चिया मजदुरहरु बारम्बार आन्दोलनमा उत्रँदासमेत उनीहरुको माग पुरा हुन सकेको छैन । एक जनाले कमाएर ल्याएको रकमबाट परिवारमा जति छन्, त्यत्ति नै भाग लगाएर खानुपर्ने अवस्था चिया मजदुरहरुको रहेको छ । त्यसमा पनि परिवारमा बालबच्चा छन् भने शिक्षा र स्वास्थ्यमा थप खर्च हुने उनीहरुको भनाइ छ।
सरकारले अहिले चिया मजदुरको दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ । तर, उनीहरुले पाउने दुई सय ७८ रुपैयाँ मात्र हो । सोही रकमबाट सम्पूर्ण खर्च पुर्याउनुपर्ने चिया मजदुरहरुको बाध्यता छ।
श्रम ऐन २०७४ जारी भएपछि चिया मजदुरको ज्याला बढेर तीन सय ८५ पुगे तापनि अहिलेसम्म कार्यान्वयन हुन भने सकेको छैन।
श्रम ऐनमा तोकिएको ज्याला नपाएको जनाउँदै चिया मजदुरहरुले बेला बेलामा आन्दोलन पनि गर्ने गरेका छन्, तर पनि उनीहरुका समस्या ज्यूँकात्यूँ छन्।
छिमेकी देश भारतमा चिया मजदुरले दैनिक एक सय ७५ भारतीय रुपैयाँ ज्याला पाउदै आएका छन् । उनीहरुले सरकारका तर्फबाट दैनिक उपभोग्य सामान खरिदमा धेरै छुट पाउने गरेका छन्, तर नेपालमा भने त्यस्तो कुनै व्यवस्था नरहेकाले पनि चिया मजदुरहरु थप मारमा पर्ने गरेका छन्।
विभिन्न मजदुर संगठनका अनुसार चिया क्षेत्रमा काम गर्ने मजदुरको संख्या नेपालमा ७० हजारको हाराहारीमा रहेको छ । त्यसको आधा हिस्सा झापामा मात्र छ।











