Kathmandu Press

स्तरवृद्धि गर्दै सौराहाका होटल 

चितवन, चैत  २३ : खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएका सौराहाका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै....

स्तरवृद्धि गर्दै सौराहाका होटल 
फाइल फोटो

चितवन, चैत  २३ : खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएका सौराहाका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै लगिएको छ। 

विसं २०२९ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरेसँगै प्रवेशद्वार सौराहामा खर र खडाइबाट निर्माण गरिएका होटल खुल्न शुरु गरेका थिए। तत्कालीन होटल तथा सामुदायिक विकास समितिका संस्थापक अध्यक्ष गिरीधारी चौधरीका अनुसार ‘इलाफेन्ट क्याम्प’ र गैँडा ‘वाइल्ड लाइफ’ले विसं २०३३ मा सौराहामा होटल शुरु गरेका हुन्। निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गर्दै त्यसपछि सौराहामा होटल खुल्न शुरु भएको उनले बताए।

निकुञ्जभित्रको टाईगरटप्स होटल भने निकुञ्ज घोषणा हुनुअघिनै खुलेको थियो। होटल बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्दै गएको छ। स्वदेश र विदेशका अन्य होटलसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि व्यवसायीले स्तरवृद्धि गर्दै लगेको चौधरीले बताए। 

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे व्यवसायीले होटलका कोठा थप गर्ने, आन्तरिक र बाह्य सजावट परिवर्तन गर्ने, पौडी पोखरी थप गर्ने, जग्गा थपेर भए पनि बगैँचा निर्माण गर्ने गरेको बताए। यससँगै खानाको गुणस्तरमा पनि वृद्धि गर्न थालिएको छ। 

कम रकममा विदेशका विभिन्न शहरले नेपाली पर्यटक भित्र्याउन थालेपछि आउने पर्यटकले त्यसको तुलना गर्न थालेका छन्। जसका कारण खाजा र खानामा गुणस्तर वृद्धि गर्न होटलले शुरु गरेका छन्। घिमिरेका अनुसार प्रतिस्पर्धी बन्न नसक्ने होटल पछि परेका छन्। कुनै समय साझा शौचालय भएका कोठामा पनि होटल चल्ने गरेको बताउँदै उहाँले अहिले ग्राहकलाई रिजाउनका लागि पौडी पोखरीसमेत अनिवार्य भइसकेको बताए। 

शौचालयसहितको वातावरण अनुकूलित कोठा सामान्य भएका छन्। सौराहामा रहेका ११० होटलमध्ये १५ वटामा पौडी पोखरी पनि रहेका छन्। पौडी पोखरी नहुनेले निर्माणका लागि गृहकार्य गरिरहेको उनले बताए।  

चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन्। सौराह, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन्। ती होटलमा रु १५ अर्बभन्दा बढी लगानी भइसकेको घिमिरेले बताए। 

ठूला व्यावसायिक घरानियाँ र व्यावसायिक समूहले ठूलो लगानीमा होटल सञ्चालनमा ल्याउन लागेको घिमिरेले बताए। उनका अनुसार १० वटा ठूला होटल बन्दै गरेका छन्। अहिले बन्दै गरेका होटल सुविधा सम्पन्न रहेका छन्। जिल्लामा सुविधा भएर पनि स्तर निर्धारण (तारा) नलिएको भन्दै उनले अब प्रतिस्पर्धी हुनका लागि होटलको गुणस्तर बढाएर स्तर मापदण्ड निर्धारण गर्नुपर्ने बताए। 

होटलसँगै कफी सप, बेकरी पनि खुल्ने क्रम जारी छ। हाल जिल्लामा वार्षिकरुपमा दुई लाख पर्यटक भित्रने गरेका छन्। अहिलेका सबै होटल चल्न वार्षिक चार लाख पर्यटक भित्र्याउनु पर्ने घिमिरेले बताए। क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष दीपक भट्टराईले पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै होटलले मर्मतसम्भार र स्तरवृद्धिको काम गर्दै गरेको बताए। 

स्थिर सरकार बनेसँगै स्वदेशी र विदेशी धेरै पर्यटक भित्रने अपेक्षासहित व्यवसायीले उत्साहित ढङ्गबाट स्तरवृद्धिको काम गरिरहेको उनले बताए। विदेशका होटलसँग प्रतिस्पर्धी बनाउने समय आएको भन्दै उनले सकारात्मक सन्देश प्रवाह गर्न आफ्नो होटलको स्तरवृद्धि गर्न सबैसँग अनुरोध गरिएको बताए। 

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी अहिलेका होटलका संरचनालाई पुनः संरचना गरेर अघि बढ्नुपर्ने समय आएको बताउँछन्। प्रतिस्पर्धाको नाममा गुणस्तर घटाउन नहुने भन्दै उनले स्वदेशी र विदेशी पर्यटकलाई उच्चस्तरको सुविधा प्रदान गर्न नसकिएमा पर्यटक भित्र्याउन कठिन हुने बताए। 

 मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन्। यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाट, त्रिशूलीको ¥याफ्टिङ, जिल्लाको सबैभन्दा अग्लो ठाउँ सिराइचुलीमा रमाउन पर्यटक आउने गर्दछन्। रासस
 

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, चैत २३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्