टुँडिखेलमा घोडेजात्रा, टोल–टोलमा मरः जा
काठमाडौं, चैत २२: आज चैते औंसी। हरेक वर्ष आजकै दिन काठमाडौंको टुँडिखेलमा घोडा दौडाएर घोडेजात्रा मनाइन्छ। त्यो भन्दा भित्र टोल–टोलमा अझ रमाइ....

काठमाडौं, चैत २२: आज चैते औंसी। हरेक वर्ष आजकै दिन काठमाडौंको टुँडिखेलमा घोडा दौडाएर घोडेजात्रा मनाइन्छ। त्यो भन्दा भित्र टोल–टोलमा अझ रमाइलो पर्व मनाइन्छ, मरः जा।
मरः जा अर्थात बालिबालिकालाई बोलाएर भात खुवाउने पर्व। मरः जालाई विभिन्न जातजाति अनुसार मलः जा र मरहः जा पनि भन्ने गरिन्छ। पहिले मरः जा कन्याहरूलाई मात्र खुवाउने चलन थियो।
तर, अहिले ब्रतबन्ध र बेलविवाह नगरेका सबै बालबालिकालाई टीका लगाएर मरः जा खुवाइन्छ। मरः जा खुवाउने काम टोलको रक्षाका लागि स्थापना गरिएकी स्थानीय देवी कुमारीको पूजा गरेर टोल परिक्रमा गरेपछि सुरु हुन्छ।

बालबालिकालाई मरः जा खुवाउँदा विभिन्न रोगबाट मुक्त हुने, भुतप्रेत र पिशाचले छुन नसक्ने अनि स्वस्थ तथा निरोगी हुने जनविश्वास रहेको छ। भात नखुवाइएका बालबालिकालाई मरः जा खुवाएपछि छुट्टै भात खुवाउने संस्कार गर्न नपर्ने जनविश्वास छ।
यो पर्व चैतमा मनाउनुको विशेष कारण पनि छ। खासगरी चैत भनेको हिउ‘द याम समाप्त भई गर्मी याम सुरु हुने समय हो। यो समयमा बालबालिकालाई विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ। त्यस्ता रोगहरू नलागून भनेर मरः जा खुवाउने गरिएको संस्कृतिविद् विपेन्द्र महर्जनले बताए।
मखन, कंकेश्वरी अजिमा, ह्युमत टोल, यट्खा टोल, भिमसेनस्थान, ब्रह्म टोल, मरु टोल, असन, ठहिटी लगायत काठमाडौंका भित्री शहरहरूमा आजकै दिन स्थानीय बालबालिका भेला पारेर मरः जा खुवाउने गरिन्छ। मरः जासँगै दाल, तरकारी, साग, मासु, दूध, दहि पनि खुवाइन्छ।

मरः जा खुवाउने काम स्थानीय गुठीअन्तर्गत विषेश गरी ज्यापु समुदायले गर्दै आएको छ । तर, यो कहिले र कसरी सुरु भयो भन्ने कसैलाई पनि थाहा छैन।
पहिले चौरासी ब्यञ्जन पकाएर मरः जा खुवाउने चलन थियो। तर, अहिले १२ प्रकारका गेडागुडी पकाएर खुवाइन्छ। मरः जासँगै विभिन्न रङ्गीचङ्गी चकलेट मिठाइ, जुस, कापी, कलम आदि वितरण गरिन्छ। यसरी खाने कुरा वितरण गरेर बालबालिकालाई खुशी पार्दा पुण्य प्राप्त हुने जनविश्वास छ।

भिडियाे हेर्नुस्:











-(7)-1765197040.jpg)
