मिस नेपालको अडिसनमा मेकअप नगरी आएको भन्दै हपारेपछि...
काठमाडौं, चैत २२ : मिस नेपालका प्रतियोगी छनोट गर्दा होस् वा विजेता घोषणा गर्दा। कुनै न कुनै रुपमा मिस नेपाल प्रतियोगिता हरेक संस्करणमा विवादमा तानिन्छ....

काठमाडौं, चैत २२ : मिस नेपालका प्रतियोगी छनोट गर्दा होस् वा विजेता घोषणा गर्दा। कुनै न कुनै रुपमा मिस नेपाल प्रतियोगिता हरेक संस्करणमा विवादमा तानिन्छन्। यो वर्ष पनि यस्तै विवादमा तानिएको छ मिस नेपाल।
मिस नेपाल–२०१९ को अडिसन अहिले भइरहेको छ। हरेक वर्ष विवादित बन्दै आएको मिस नेपाल यो वर्ष भने अडिसनमा एक प्रतियोगीलाई निर्णायकले सोधेको प्रश्नले फेरि विवादित बनेको छ। सामाजिक सञ्जालमा भाइरल त बनेको छ नै निर्णायकमाथि सामाजिक सञ्जालमा युवायुवतीहरु खनिएका छन्।
मिस नेपाल २०१९ को अडिसनमा भाग लिएकी अस्मिता महर्जनलाई निर्णायकले सोधेको प्रश्नकै कारण फेरि विवादमा तानिएको हो।
मिस नेपाल २०१९ की निर्णायकमध्येकी एक रचना गुरुङले अस्मितालाई प्रश्न सोधेकी छिन्–मेकअप नगरी तिमी किन आयौं? यही प्रश्न हो जसले मिस नेपाललाई फेरि विवादमा तानेको छ।
तर, प्रतियोगी अस्मिताले मुस्कुराउँदै उत्तर दिएकी छिन्–वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन।
अस्मिताले त्यो जवाफपछि रचनाले फेरि प्रश्न सोधिन्– ‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको?’
रचनाको प्रश्नमा उत्तर दिँदै अस्मिताले जवाफ दिइन्-म अब सिक्छु
उनको जवाफपछि रचनाले अन्तिम निर्णय सुनाउँदै भनेकी छिन्– ‘तिमी सिकेर आऊ। तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर गर्यौं।
अडिसनमा आएकी प्रतियोगी अस्मितालाई मेकअप नगरी आएको भनेर निर्णायकले यसरी प्रश्न गरेको भिडियो क्लिप अहिले सामाजिक सञ्जालहरुमा भाइरल नै छ। मेकअप नगरी आएर मिस नेपाल प्रतियोगिताको अनादर गरेको भनेर निर्णायकले भनेको भिडियो क्लिप सार्वजनिक भएपछि निर्णायक भूमिकामा रहेकी रचनाविरुद्ध युवायुवतीहरु खनिएका छन्।
मिस नेपालमा भाग लिन सबै युवतीहरु सक्षम नहुन सक्छन्। आयोजकका आफ्नै केही मापदण्डहरु हुन्छन्।तर, सबै प्रतियोगीहरुले त्यसलाई पूरा गर्न सक्छन् भन्ने पनि छैन। तर, प्रतियोगीलाई निर्णायकले मेकअप नगरेको भन्दै हपारेपछि एक पटक मिस नेपाल फेरि विवादमा तानिएको छ।












