ठेकेदारको लापरवाहीले बग्यो तीन सय विगाहाको जंगल
टीकापुर, चैत २० : ठेकेदारको लापरवाहीले समयमै तटबन्धको काम पूरा नहुँदा कर्णाली नदीले तीन सय विगाहा क्षेत्रको जंगल बगाएको छ । सामुदायिक वन क्षेत्रको करो....

टीकापुर, चैत २० : ठेकेदारको लापरवाहीले समयमै तटबन्धको काम पूरा नहुँदा कर्णाली नदीले तीन सय विगाहा क्षेत्रको जंगल बगाएको छ । सामुदायिक वन क्षेत्रको करोडौंको जंगल सखाप भएको हो।
कर्णाली नदीमा तटबन्धका लागि हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी, काठमाडौंले ठेक्का लिएको थियो । रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सात सय मिटर तटबन्धका लागि ०७२ चैतमा ठेक्का दिएको थियो । अहिलेसम्म ६ सय मिटर तटबन्ध मात्रै निर्माण गरेको छ । ‘समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करिब तीन सय बिगाहा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो,’ सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, ‘यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’
निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताए । स्थानीय बासिन्दाको माग सुनुवाइ नभए आन्दोलनमा उत्रिने स्थानीय मनिराम ढुङ्गानाले बताए।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भए पनि समयमा काम नहुँदा निराश भएको बताए । उनले वडा नं. ८ को नौ सय ९४ र वडा नं. ९ का चार घर प्रभावित हुने बताए । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उनको भनाइ थियो।
ठेक्का लागेको वर्ष ०७२ यता कर्णाली नदीले तीन सय बिगाहा वन क्षेत्र कटान गरिसकेको छ । गत वर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिगाहा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिए।
तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ । आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिए।
निर्माण कम्पनीसँग १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिए। (रासस)



-1776510445.jpg)
-1755950009.png)




-1776239932.jpg)


