Kathmandu Press

त्रिभुवन विमानस्थल अब दैनिक १० घण्टा बन्द, लुक्ला उडान रामेछापबाट 

काठमाडौं, चैत १८ः  नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ।&nb....

त्रिभुवन विमानस्थल अब दैनिक १० घण्टा बन्द, लुक्ला उडान रामेछापबाट 

काठमाडौं, चैत १८ः  नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गरेर सोमबारदेखि नयाँ बनाउन सुरु भएकाले विमानस्थल दैनिक १४ घण्टामात्रै खुल्ने भएको हो।

निर्माणको जिम्मा चाइना यरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनले सोमबार बेलुका १० बजेदेखि धावन मार्गमा नयाँ कालोपत्रेको काम सुरु गर्नेछ। हाल २१ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावन मार्ग निर्माण गर्न लागिएकाले आगामी ७० दिनसम्म विमानस्थल दैनिक १४ घण्टा मात्रै खुल्ने छ। कालोपत्रको काम सुरु भएकाले विमानस्थलले सबै आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुको उडान तालिका अघि सारेको छ। सबै रात्रीमा उडान गर्ने एयरलाइन्सहरुले साँझमा र दिउँसोको तालिका लिएका छन्। 

निर्माणको समयमा विहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुने  विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। बेलुका १० देखि विहान ७ बजेसम्म धावन मार्ग निर्माणको काम हुने प्राधिरणले जनाएको छ। ‘आजदेखि कम्पनीले काम थाल्ने र जेठ १५ सम्म सक्ने छ,’ प्रवक्ता तिवारीले भने।  कालोपत्रेका लागि  कम्पनीलाई भ्याटबाहेक ३ अर्ब ७५ करोड रुपैयाँमा निर्माणको जिम्मा दिएको समेत उनले जानकारी दिए। 

पुरानो कालेपत्रेका कारण पटक–पटक भत्किँदा समस्या हुँदै आएको थियो।  अब नयाँ कालेपत्रे राखेपछि समस्या हट्ने अपेक्षा गरिएको छ। विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजहरुको उडान-अवतरणमा समस्या हुँदै आएको थियो। धावनमार्ग ३ हजार ५० मिटर लामो छ। जसको ट्याक्सीमार्ग र धावनमार्ग दुबैमा नयाँ कालोपत्रे गरिने छ।

 पुरानो  कालोपत्रे विस्थानपन गरी नयाँ राखेपश्चात विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी समेत विमानस्थलले सुरु गरेको छ। प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाइ यात्रुमार्फत १ हजार बढी उठाउँदै आएको छ। सोही कोषको रकम खर्च गरेर विमानस्थलको सुधार कार्य गर्दै आएको छ।

हालसम्म उक्त कोषमा ७ अर्ब रुपैयाँ भन्दा जम्मा भइसकेको छ। कोषको रकम विमानस्थल सुधारका लागि मात्र खर्च गराउने प्राधिकरणको लक्ष्य छ। निर्माण कम्पनीले ४९ दिनमा सम्पन्न गर्ने भनेपनि प्राधिकरणले भने ७० दिनसम्मको समय दिएको छ। कम्पनीले दैनिक ८० मिटरभन्दा बढी निर्माण गर्नेछ। धावनमार्गको ३० देखि ५३ सेन्टिमिटरसम्म गहिरो कालोपत्रे गरिने छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विगत लामो सयमदेखि धावनमार्गको कालोपत्र फेर्ने योजना बनाएको भएपनि काम अघि बढ्न सकेको थिएन। धावनमार्ग कालोपत्रे गरेपछि आगामी २० वर्षसम्मका लागि ठूला वाइडबडी जहाज उडान र अवतरण गराउन कुनै समस्या नहुने प्राधिकरणको दाबी छ। 

लुक्ला उडान रामेछापबाट 

काठमाडौं–लुक्ला उडान भने रामेछाप विमानस्थलबाट गरिने भएको छ। सागरमाथा आरोहणको मुख्य सिजनमा लुक्लामा दैनिक २ सय भन्दा बढी उडान-अवतरण हुँदै आएको थियो। यसपटक भने बिहानै उडान गर्न त्रिभुवन विमानस्थलबाट असम्भव हुने भएपछि रामेछापबाट उडान गर्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता तिवारीले जानकारी दिए। अन्य अन्तरिक उडानमा भने समस्या नपर्ने भएको छ। लुक्लामा प्रायः सबै उडान विहानै हुने भएकाले पनि रामेछाप सारिएको उनको भनाइ छ।
 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, चैत १८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्