सहकारीमैत्री कानून बनाउने प्रयासमा छौं: मन्त्री अर्याल
काठमाडौं, चैत १७: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रीय कार्यालय कुपण्डोलको अनुगमन तथा न....

काठमाडौं, चैत १७: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रीय कार्यालय कुपण्डोलको अनुगमन तथा निरीक्षण गरेकी छिन्।
आइतबार बैंकको निरीक्षणपश्चात आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री अर्यालले सहकारीमैत्री वातावरण निर्माण गरिने बताइन्। सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उनले सहकारी र सरकार एक भएर अघि बढ्नुपर्ने बताइन्। संविधानमा नै सहकारीलाई सरकारको तीन खम्बे अर्थ नीतिको रूपमा उल्लेख गरेर स्वीकार गरिसकेको भन्दै उनले अलग-अलग जान नसकिने बताइन्।
सहकारीको हात बाँधेर सहकारीले आर्थिक क्षेत्रमा योगदान गर्न नसक्ने भन्दै मन्त्री अर्यालले बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्ने तयारीमा मन्त्रालय रहेको बताइन्। 'सहकारी ऐन २०७४ मा बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्नसक्ने व्यवस्था छ। त्यसैअनुसार हामी बचत तथा ऋणसम्बन्धी ऐन निर्माण गर्ने तयारीमा छौ', मन्त्री अर्यालले भनिन्,'सहकारीको हात-खुट्टा बाँध्ने कानून सहकारीमैत्री हुन सक्दैन। हामी त्यसलाई सकेसम्म संशोधन गरेर भएपनि सहज बनाउने तयारीमा लागेका छौं।'
सरकार सहकारी मैत्री सरकार र कानून बनाउने प्रयासमा मन्त्रालय रहेको उनको भनाइ थियो। 'सहकारीमैत्री सरकार बनाउन र सहकारीमैत्री कानूनको अनुभूति गराउने प्रयासमा हामी छौं', उनले भने,'संविधानमा लेखेर राज्यले पनि स्वीकार गरिसकेको छ। सरकारबाट हुने सर-सहयोगमा सहकारीलाई कुनै कमि रहँदैन।'
सहकारी विकास बैंकका कार्यकारी अध्यक्ष केवी उप्रेतीले बैंकले गरेका कामबारेमा जानकारी गराएका थिए। २०६० सालमा स्थापना भएको बैंकका अहिले देशभर ४४ वटा शाखा रहेको र २० अर्ब बचत तथा १६ अर्ब ऋण लगानी भएको जानकारी गराएका थिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकले ब्राण्डिङ, बिजनेश डेभलपमेन्ट कार्य, प्लानिङ कार्य तथा विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।











-1754206481.jpg)