प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ मा हुने
विराटनगर, चैत १५: प्रदेश नम्बर १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्रा....

विराटनगर, चैत १५: प्रदेश नम्बर १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० ९ख० र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सभामा पेश गरेका थिए।
यसअघि शुक्रबारको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य राजन राईले वर्डफ्लुका कारण क्षति व्यहोर्ने किसानलाई राहत उलब्ध गराउने सम्बन्धी नियम प्रदेश सरकारले बनाउनुपर्ने माग गरेका थिए। प्रदेशसभाअन्तर्गका सबै विषयगत समितिको चैत २२ गते निर्वाचन हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। उनले निर्वाचनका लागि प्रदेशसभा सचिवालयका सचिव अम्बिका चौलार्गाइलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने निर्वाचन सम्बन्धी सूचना शुक्रबारै प्रकाशन गरिने जानकारी दिए।
प्रदेशसभाअन्तर्गत न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति छन्। रासस












