कांग्रेस निजी र विदेशी लगानीको पक्षमा छ, नेपालमा लगानी गर्नुहोस्ः पूर्वअर्थमन्त्री महत
काठमाडौं, चैत १५ : पूर्वअर्थमन्त्री डा.रामशरण महतले कांग्रेस निजी क्षेत्र र विदेशी लगानीको पक्षमा रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उ....
काठमाडौं, चैत १५ : पूर्वअर्थमन्त्री डा.रामशरण महतले कांग्रेस निजी क्षेत्र र विदेशी लगानीको पक्षमा रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले लगानी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन्।
सरकारले मात्रै लगानी गर्न सम्भव नहुने देखेर नै नेपाली कांग्रेसले निजी क्षेत्रको लगानी खुला गरी आर्थिक उदारीकरण सुरु गरेको बताए । नेपालमा राजनीतिक मुद्दा सकिएसँगै स्थिर सरकार बनेको उल्लेख गर्दै भने, ‘अबको बाटो आर्थिक वृद्धि भएकोले सघाउन म सबै पाहुनाहरूलाई आग्रह गर्छु।’
अप्ठ्यारो समयमा पनि विश्व बैंक र एसियाली विकास बैंकले नेपालको विकासमा सघाएको स्मरण गर्दै अब अवस्था सहज भएकाले नेपालमा लगानी गर्न आग्रह गरे । केही समय द्वन्द्वले समस्या पारेको उल्लेख गर्दै संविधान निर्माण, भूकम्पजस्ता थुप्रै अप्ठ्याराहरूले २० वर्ष आर्थिक बृद्धि हुन नसकेको बताए । अब भने लगानीका लागि सहज भएको उनको भनाइ थियो।
उनले मानव विकास सुचकांकमा नेपालले गरेको प्रगति, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा भएको सुधारको जिकिर गरे । कांग्रेसले गरेको आर्थिक सुधारकै कारण बैंकिङ, दूरसञ्चार, सडक सञ्जाल बिस्तार भएको उनको भनाइ थियो । ‘केही समय अगाडि मात्रै पनि हामीले कानुनहरू संशोधन गरेकाले लगानीकर्तालाई सहज हुने अवस्था आएको छ,’ डा.महतले भने।
उनले विदेशी लगानीले स्वदेशी लगानीकर्तालाई असर नपार्ने बताए । उनले स्वदेशी लगानीकर्तालाई नतर्सिन पनि आग्रह गरे । विगतमा बैंकमा विदेशी लगानी भित्र्याउँदा विरोध भएको प्रसंग कोट्याउदै पछि वित्त क्षेत्र बलियो हुँदा सबैलाई सहज भएको समेत बताए।