टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको कोरोना परीक्षण गर्ने
काठमाडाैं, भदौ ९ : टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पीसीआर परीक्षण गर्ने भएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमि....

काठमाडाैं, भदौ ९ : टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पीसीआर परीक्षण गर्ने भएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढेसँगै काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो। नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला संकलनमा संलग्न व्यक्ति र कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए।
परीक्षणका लागि प्रत्येक वडामा विवरण संकलन गर्न आग्रह समेत गरिएको छ। टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन्। टोखाले हालसम्म एक हजार ४४७ जनाको पीसीआर परीक्षण गरिसकेको छ जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन्। यस्तै, दुई जना सम्पर्कविहीन छन् भने दुई जनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए।
यही भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको पीसीआर परिक्षण गरेकोमा ५५ जनाको नेगेटिभ र ९ जनाको पोजेटिभ रिपोर्ट आएको थियो। उक्त रिपोर्टसँगै संक्रमितको संख्या १२० पुगेको हो। उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पीसीआर परीक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि परीक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए।
काठमाडौं उपत्यकाभित्र १८ स्थानीय तह छन्। उपत्यका नगरपालिका फोरमको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा दुई हजार ७४६ संक्रमित छन्। फोरमले भदौ १५ सम्म उपत्यकामा १५ हजारभन्दा बढीको पीसीआर परीक्षण गर्ने जनाएको छ। रासस











