दुई दिनदेखि लगातार परेको असिनापानीले किसानको बिजोग
डोल्पा, भदौ ९ : दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्न....

डोल्पा, भदौ ९ : दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ।
असिनापानीका कारण सो गाउँपालिकाको वडा नं १ देखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताए। उनले भनेृ, ‘तीन÷चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ।’
वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ। ‘यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पा¥यो, जिविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ,’ वडाध्यक्ष गुरुङ्गले भने।
सोही वडाका किसान तेन्जिन टासी गुरुङ्गले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताए। उनले भने, ‘कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ।’ उनले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।
विकास निर्माणमा क्षति
दुई दिनदेखि लगातार परेको असिना पानीका कारण आएको बाढीले वडा नं एकदेखि चारसम्मको विकास योजनामा ठूलो क्षति पु¥याएको शे–फोक्सुण्डो गाउँपालिकाले जनाएको छ।
ती वडामा संघ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पु¥याएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए। बाढीले केही सडक र पुल भत्काएपछि आवतजावतमा समेत समस्या भएको उनले बताए। केही ठाउँमा किसानको पशुचौपाया समेत बगाएको उनले जानकारी दिए।
असिना पानीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको बताइएको छ।











