बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन बनाउने, प्रहरीलाई पनि भत्ता
काठमाडौं, भदौ ९ : बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ। नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलि....

काठमाडौं, भदौ ९ : बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ। नगर प्रमुख उद्धवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो।
उक्त बैठकले बूढानीलकण्ठ– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टाइनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ। त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ। बैठकले होम आइशोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक संक्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ। उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक संक्रमितको सहयोगीका रुपमा स्थानीयलाई समेत राखिने भएको छ। आइसोलेशन सहयोगी संक्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ।
होम आइसोलेसशनमा रहने संक्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत चार हजार रुपैयाँ उपलब्ध गराउनाका साथै एकभन्दा बढी संक्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत ६ हजार रुपैयाँ एकमुष्ट प्रदान गरिने बताइएको छ। यस्तै संक्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार दुई हजार रुपैयाँ दिइने निर्णयसमेत भएको छ।
सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टाइनस्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिए।
साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षायकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ। यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ।
हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पीसीआर टेष्ट गरेको छ। नगरपालिकामा जम्मा संक्रमित १३० जना पुगेका छन्। यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन्। एक सय दुई जना कोरोना संक्रमित अस्पताल तथा घरमा आइसोलेशनमा बसिरहेको नगरपालिकाले जनाएको छ। आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पीसीआर टेष्ट गर्ने बैठकले निर्णय गरेको छ।











