रोहित चन्दको प्रशंसा गर्दै फिफाले भन्यो- उनी नेपालमा सबैभन्दा ठूला स्टार हुन्
काठमाडौं, भदौ ८ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेबसाइट फिफा डटकमले नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दको प्रशंसा ग....

काठमाडौं, भदौ ८ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आधिकारिक वेबसाइट फिफा डटकमले नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दको प्रशंसा गरेको छ।
फिफाले चन्दबारे प्रकाशन गरेको सामग्रीमा उनलाई नेपाली राष्ट्रिय टोलीका सबैभन्दा स्थापित स्टार भनिएको छ। फिफाले चन्द २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट अभियानमा नेपाली टोलीका प्रमुख खेलाडी भएको बताएको छ।
‘उनी २०२२ को विश्वकप छनौट अभियानमा टोलीका एक प्रमुख खेलाडी हुन्,’ फिफाले भनेको छ। चन्दले ११ वर्षमा ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी गोलकिपर किरण चेम्जोङपछि सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी हुन्।

चन्द इन्डोनेशियाको प्रतिष्ठित क्लब पर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल्छन्। चन्दले फुटबलभन्दा अघि क्रिकेट खेलाडीका रुपमा करियर सुरु गरेका थिए। सुर्खेतका २८ वर्षीय चन्दको रुची क्रिकेटमा थियो। उनले क्षेत्रीय क्रिकेट प्रतियोगितामा गाउँको प्रतिनिधित्व गरेको फिफाले प्रकाशन गरेको सामग्रीमा उल्लेख छ। दाइ रविनसँग प्रभावित भएर चन्दले फुटबल खेल्न थालेका थिए।
चन्दले सन् २००९ को मार्चमा प्यालेस्टाइनविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। १६ वर्ष २२ दिनको उमेरमा सिनियर टोलीमा डेब्यू गरेका उनी सबैभन्दा कम उमेरमा डेब्यू गर्ने खेलाडी बनेका थिए। तर, सन् २०१३ मा उनको रेकर्ड विममल घर्ती मगरले तोडेका थिए। विमलले १४ वर्षको उमेरमा सिनियर टोलीमा डेब्यू गरेका थिए।
फिफासँगको कुराकानीमा चन्दले आफूले युरोपमा खेल्न चाहे पनि पूरा हुन नसकेको बताएका छन्। ‘यो उमेरमा युरोपमा खेल्ने आशामा मसँग छैन। लामो समयदेखि मैले युरोप जाने इच्छा राखेको थिएँ। तर, अब यो सम्भावना कम छ,’ उनले भने।
चन्दले फिफासँग इटालीका पूर्वडिफेन्डर माल्दिनी आफ्ना आइडल भएको बताएका छन्। उनले अहिले कोभिडसँग बच्न आवश्यक रहेको र त्यसपछि बाँकी खेलमा ध्यान दिनुपर्ने बताएका छन्। उनले अष्ट्रेलिया र जोर्डन बलिया टोली भएको भन्दै चाइनिज ताइपेलाई पनि कम आँक्न नमिल्ने बताएका छन्।
उनले विश्वकप सबै खेलाडीको सपना हुने बताएका छन्। तर, त्योभन्दा पहिले साफ च्याम्पियन्सिप र एसियाली कपमा राम्रो प्रदर्शन गरेर टोलीलाई तयार गर्नु पर्ने बताएका छन्।











