मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण सुरु
चितवन, भदौ ८ : चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना संकलनको काम सुरुआत गरिएको छ। निकुञ्जमा ....

चितवन, भदौ ८ : चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना संकलनको काम सुरुआत गरिएको छ। निकुञ्जमा ५९ हात्ती छन्। निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना संकलनको काम सुरुआत भएको जानकारी दिए। हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ।
हात्ती प्रजनन केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती छन्। ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए। यसपछि पोष्टमा रहेका हात्तीको नमूना संकलन गरी परीक्षणका लागि पठाइने छ। काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ। अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए। सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन्। सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ।
जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो। सो संक्रमण सन् २०१६ सम्म जारी नै रह्यो। त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो। त्यसपछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ। चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो। यसअघि मरेका तीन हात्तीको पोष्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ।
यस क्षेत्रमा निजी होटलका पनि ५७ हात्ती छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल सुरु गर्न लागिएको जानकारी दिए। क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ। निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन्।











