Kathmandu Press

स्वास्थ्यकर्मीको मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन सरकारसँग देउवाको आग्रह 

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीले खेलेको भूमीकाको प्रशंसा गर्दै उनीहरुको मनोव....

स्वास्थ्यकर्मीको मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन सरकारसँग देउवाको आग्रह 

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना विरुद्धको लडाइमा स्वास्थ्यकर्मीले खेलेको भूमीकाको प्रशंसा गर्दै उनीहरुको मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन सरकारसँग माग गरेका छन्।

देउवाले आइतबार विज्ञप्ती जारी गर्दै ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राना गरेका हुन्। ‘प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलले कार्य गरिरहनुभएको छ,’ उनले भनेका छन्, ‘म हृदय देखिनै उहाँहरुको प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गर्दछु।’

देउवाले  कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्नुपर्दा दुःख लागेको बताउँदै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका लागि तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन्। ‘आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ। आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो,’ उनले भनेका छन्, ‘आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरु संगै अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी, सूचना सम्प्रेषणको भुमिका निरन्तर निभाइरहेका संचारकर्मी एवं हाम्रा गाउँ–शहरदेखि अस्पतालसम्मको सफाइमा खटिएका सफाईकर्मीहरुलाई हृदयदेखि सम्मान गर्दै यो प्रतिकूलतामा निर्वाह गरेकोको भूमिकाको उच्च सह्राना गर्दछु।’

देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपील समेत गरेका छन्। ‘पीसीआर परीक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पु¥याउन माग गर्दछु,’ उनले भनेका छन्, ‘ कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु। खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु।’

क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा कोरोनाको विस्तारमा योगदान पुगेको घटनाहरु स्मरण गर्दै मापदण्डयुक्त क्वारेन्टाइनहरुको व्यवस्थापनमा अविलम्ब ध्यान पु¥याउन देउवाले सरकारको ध्यानाकर्षण समेत गराएका छन्। 

यस्तै देउवाले नेपाली जनसम्पर्क समितिहरु तथा देश बाहिर रहेका सबै संघसंस्था र नेपाली दूतावासहरुलाई यो प्रतिकूलताका घडी डायस्पोराका नेपालीहरुको हितमा ऐक्यवद्ध ढंगले कार्य गर्न आग्रह समेत गरेका छन्। ‘विदेशमा अप्ठयारोमा परेर देश फर्कन चाहने नेपालीलाई उद्वार गर्न नेपाली कांग्रेसले शुरुआत देखि नै सरकारलाई आग्रह र माग गर्दै आएको छ। नीति र व्यवहार दुवैमा अस्पष्ट रहेर सरकारले देखाएको ढिलासुस्ती र अन्यौलताले प्रवासी नेपालीको पीडा माथि पीडा थपिएको छ,’ उनले भनेका छन्, ‘विदेशमा रोजगार गुमाएर बेखर्चीसमेत भएका युवाहरूलाई कल्याण कोषको रकम प्रयोग गरेर निःशुल्क उद्वार गर्न म सरकारसँग माग गर्दछु।’

उनले कोरोनाको संक्रमणबाट जनताको जीवन रक्षामा समर्पित हुनु आज हामी सबै राजनैतिक दल एवं संघसंस्थाहरुको साझा कर्तव्य भएको बताउँदै आपसी एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा उच्चतम मानवीय भावना साथ थप क्रियाशिल रहन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन्। 
प्रत्यक्ष जनतासँग सम्पर्कमा रहेर कार्य गरिरहेका देशभरिका स्थानीय तहका सबै थरी नेतृत्वको सह्राना गर्दै देउवाले कोरोनाविरुद्धको संघर्षका स्थानीय कमजोरीको पहिचान एवं सबै थरि एक भएर कार्य गर्ने इच्छाशक्तिका साथ निदान गर्दै अघि बढ्न अपिलसमेत गरेका छन्।

प्रकाशित मिति: १८:०८ बजे, आइतबार, भदौ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्