नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय
काठमाडौं, भदौ ७ : नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिक....

काठमाडौं, भदौ ७ : नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ। सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेअनुसार मन्त्रालयले तयारी थालेको हो।
कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नबढ्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ। त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्रालयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ।
मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले सरकारको निर्णयअनुरुप दैनिक ५०० यात्रु नबढ्ने गरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए। उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइने बताए।
सरकारी निर्णयअनुरुप पीसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पीसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ। ‘सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागि परेका छौँ, सोमबार या मंगलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ,’ सह–प्रवक्ता पौडेलले भने।
नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन्। सह–प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइडबडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन्। यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन्।
नेपाल एयरलाइन्सले उद्धार उडानको तालिका बनाइरहेको छ। निगमका अपरेशन विभाग प्रमुख दीपु जुहारचनले आज साँझसम्म चार्टर्ड उडानको तालिका बन्ने जानकारी दिए। यस्तै हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडानको तालिका बनाउने छ। पर्यटन मन्त्रालयको अनुमतिमा चार्टर्ड उडान तालिका बनाइने छ। कुन मुलुकबाट कति सङ्ख्यामा चार्टर्ड उडान गर्ने भन्ने टुङ्गो लागेको छैन।
बन्दाबन्दीको पाँच महिनापछि नियमित उडान सुरु हुन लागेको हो।











