अछाममा थप एक शव भेटियो, मृतकको संख्या सात पुग्यो
अछाम, भदौ ७ : अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये थप एक जनाको शव भेटिएको छ। योसँगै बाढीले बगाएर ....

अछाम, भदौ ७ : अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये थप एक जनाको शव भेटिएको छ। योसँगै बाढीले बगाएर मृत्यु हुनेको संख्या सात पुगेको छ।
जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक १८ वर्षीय रमेश साउदको शव भेटिएको हो। अझै बेपत्ता रहेका १० जनाको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।
यही भदौ ३ गते आएको बाढीले बगाएर १७ बेपत्ता भएका थिए। उनीहरुमध्ये ६ जनाको शव बुधबार भेटिएको थियो भने एक जनाको शव आज भेटिएको हो।
बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, ३३ वर्षीया गौरी शाह, २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही र ४८ वर्षीय चन्द्र साउद छन्।
बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ।











