Kathmandu Press

चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति

काठमाडाैं, भदाै ६ : पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ। धार्मिक, ऐतिहासिक, पुरातात्वि....

चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति
फाइल

काठमाडाैं, भदाै ६ : पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ। धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक हिसाबले महत्व बोकेको चम्पादेवीमा शहरी विकास मन्त्रालयले झण्डै ६० करोड विनियोजन गरेसँगै यहाँको विकासले तीव्रता पाएको हो। 

काठमाडौँ उपत्यका तथा त्यस वरपरका हिमाल तथा सगरमाथाको समेत दृश्यावलोकन गर्न सकिने भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुँदै गएको छ। पर्यटकीय गन्तव्यको विकाससँगैै स्थानीय मार्गको स्तरोन्नति, घरबास, सामान्य होटल, रेष्टुराँसमेत खुल्ने क्रम बढ्दै गएको छ। 

छोटो समयका लागि पदयात्रासमेत गर्न सकिने काठमाडौँ दक्षिणभेगस्थित स्थलको प्रचारप्रसार बढ्दै गएपछि पर्यटकको चापलाई दृष्टिगत गरी पूर्वाधारको विकासले गति लिन थालेको हो। चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले पूर्वाधार विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
 
संस्थाका अध्यक्ष जनक तामाङ चम्पादेवी क्षेत्रको समग्र विकासका लागि जलसम्पदा वातावरण तथा संरक्षण कोष नेपालको सहकार्यमा आफ्नो संस्थाले पहल गरिरहेको बताउँछन्। “चम्पादेवी पार्क निर्माण गुरुयोजनाअन्तर्गत शहरी विकास मन्त्रालयले झण्डै ६० करोड रकम विनियोजन गरेको छ, उक्त रकमबाट चम्पादेवी क्षेत्रको विकास निर्माणले तीव्रता पाएको छ,”उनले भने।
 
सात वर्षमा निर्माण सम्पन्न गर्ने गुरुयोजना अनुसार हाल चम्पादेवी क्षेत्रको ७५ रोपनी क्षेत्रफलमा तारजाली लगाउने, स्वीमिङ पुल निर्माण, हनुमान मूर्ती, रामसीताको मूर्ती, मन्जुश्रीको मूर्ती, शिवपार्वतीको मूर्ती, बुद्धको मूर्ती र नवग्रको मूर्ती राख्ने काम सम्पन्न भइसकेको छ। यस्तै, फुटपाथमा ढुङ्गा विच्छाउने काम, मन्दिर वरपर तारजाली राख्ने, नौ किलोमिटर ट्रेकिङ रुट निर्माण समेत भईसकेको छ। उक्त कार्य सम्पन्न गर्नका लागि झण्डै चार करोड रकम लागेको अध्यक्ष तामाङ बताउँछन्।

दक्षिणकाली नगरपालिका–१ र किर्तिपुर नगरपालिका–६ मा अवस्थित चम्पादेवी क्षेत्रमा सेमिनार हल, ध्यानकेन्द्र, चिडियाखाना, पिकनिक स्थल, पानीट्याङ्की निर्माण गरिनेछ। यस्तै चम्पादेवी मन्दिर निर्माणका लागि पुरातत्व विभागले २० लाख रकम विनियोजन गरेको छ।

चम्पादेवी पाउँ वोसनदेखि देउराली हुँदै चम्पादेवी डाँडा भएर पुष्पलाल स्मृति प्रतिष्ठान क्षेत्रसम्म पदयात्राका रुपमा विकास गरिएको छ। उक्त मार्ग करीब नौ किलोमिटरको छ। सामान्य रुपमा वरपर ढुङ्गाको पर्खालका माध्यमबाट चम्पादेवीको शिलालाई घेरेर राखिएकामा सोही संस्थाको पहलमा केही व्यवस्थित गरिएको छ। 

अध्यक्ष तामाङ फागुन चैतको समयमा सगरमाथाको अवलोकन सूर्योदय र सूर्यास्तसम्मका दृश्यलाई पनि हेर्न सकिने बताउँछन्। त्यहाँबाट लाक्पादोर्जे र गौरीशङ्करलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न सकिन्छ। वनजङ्गलले ढकमक्क ढाकिएको चम्पादेवी क्षेत्र विभिन्न जडीबुटीको भण्डार पनि हो। वनजङ्गल र जडिवुटीको प्रचुर सम्भावना भएकाले उक्त क्षेत्रको संरक्षणका लागि जलसम्पदा वातावरण तथा संरक्षण कोषले समेत पहल गर्दै आएको छ ।

कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव एवम् पर्यटन सूचना केन्द्र किर्तिपुरका सचिव वीरेन्द्र शाक्य चम्पादेवी क्षेत्रको विकासले किर्तिपुर र दक्षिणकालीको पर्यटन विकासमा कायपलट ल्याउने बताउँछन्।

मच्छेगाउँ–चम्पादेवी, फर्पिङ–चम्पादेवी, पुष्पलाल उद्यान–चम्पादेवी, चाल्नाखेल–चम्पादेवीजस्ता पदमार्गमार्फत पर्यटक चम्पादेवी पुग्ने गरेका छन्। प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ लाग्ने मेलामा हजारौँ पर्यटक आउने गरेका छन्। नयाँ वर्षका दिन चम्पादेवीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। रासस

प्रकाशित मिति: १३:०२ बजे, शनिबार, भदौ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्