दश हजार भेन्टिलेटर र आईसीयू व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडाैं, भदाै ५ : प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले १० हजार भेन्टिलेटर र आईसीयूको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।&....

काठमाडाैं, भदाै ५ : प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले १० हजार भेन्टिलेटर र आईसीयूको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार समितिको भर्चुअल बैठकले कोभिड-१९ का संक्रमित बढ्दै गइरहेकाले तत्काल १० हजार भेन्टिलेटर र आईसीयूको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।
यस्तै, बैठकले कोरोनाको संक्रमण भयावहरुपमा फैलिएकाले ७७ जिल्ला सदरमुकामबाट पीसीआर परीक्षण गर्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ। समितिले कन्टयाक ट्रेसिङलाई व्यापक बनाउन प्रभावकारी र व्यवस्थित गरी जोखिम न्यूनीकरणतर्फ जोड दिन पनि सरकारलाई सुझाव दिएको छ।
बैठकले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ।
बैठकले आधारभूत स्वास्थ्य सेवामा सरल र सहज पहुँच नागरिकको मौलिक हक भएकाले कोभिड–१९ बाहेकका बिरामीको उपचार गर्नेतर्फ गम्भीर ध्यान दिँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
कोभिड–१९ को उपचारका लागि निजी अस्पताल र मेडिकललाई समेत प्रयोग गर्नका लागि राज्यका तर्फबाट आवश्यक साधनस्रोत सहयोग गरी नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न पनि समितिले सुझाव दिएको छ।
कोभिडको उपचारका लागि कोरोना डेडिकेटेड अस्पतालको सङ्ख्या तत्काल वृद्धि गर्न तथा कोभिड–१९ बाहेकका बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्वसावधानी र उचित सतर्कताका साथ गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्देश गरेको छ।











