अस्पतालमा बेड भरिँदा घरमै बसेका कोरोना संक्रमितको मृत्यु
विराटनगर, भदौ ५ : काेभिड अस्पतालमा बेड खाली नभएपछि घरमै आइसोलेसनमा राखिएका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
मोरङको विराटनगर महानगरप....

विराटनगर, भदौ ५ : काेभिड अस्पतालमा बेड खाली नभएपछि घरमै आइसोलेसनमा राखिएका एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। उपचार पाउन नसक्दा उनको मृत्यु भएको परिवारजनले जनाएका छन्।
कोरोनाका लक्षण देखिएपछि पनि भदौ १ गते उनको स्वाब संकलन गरिएको थियो। बुधबार आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको परिवारजनले बताए।
त्यसपछि उनलाई बुधबार नै अस्पताल लग्न खोजिएको थियो। तर, आइसोलेसन बेड खाली नभएको अस्पतालले भर्ना लिन नमानेको वडाध्यक्ष विजय कामतले बताए। जति कोसिस गर्दा पनि उनलाई अस्पताल लग्न नसकिएको उनले गुनासाे गरे।
कोभिड अस्पतालमा बेड भरिएका छन्। अस्पतालले भर्ना लिन नमानेपछि ‘होम आइसोलेसन’मा राखिएको अध्यक्ष कामतले बताए।
बिहीबार राति उनलाई श्वासप्रश्वासमा समस्या आएको थियो। 'गम्भीर भएपछि पनि राति अस्पताल लग्न खाजेका थियौं, तर कोभिड अस्पतालले बेड खाली नभएको भन्दै लिन मानेन्। उनको घरमै राति ज्यान गयो,' वडाध्यक्ष कामतले भने।
आज शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली उनको घरमा आएको छ। सेनाको टोलीले नै शव व्यवस्थापन गर्ने भएकाे छ।











