Kathmandu Press

मलेसियामा अलपत्र सविना र उनकाे चार वर्षीय छोरोकाे उद्दारमा सहयोगको अपिल 

काठमाडौं, भदौ ४ : अलपत्र परेका सविना राई (कट्वाल) र उनका छोराको उद्दार गर्न मलेसियाका नेपालीहरुले अपिल गरेका छन्। अन्दाजी ३८ वर्षकी सविना र उनका चार व....

मलेसियामा अलपत्र सविना र उनकाे चार वर्षीय छोरोकाे उद्दारमा सहयोगको अपिल 

काठमाडौं, भदौ ४ : अलपत्र परेका सविना राई (कट्वाल) र उनका छोराको उद्दार गर्न मलेसियाका नेपालीहरुले अपिल गरेका छन्। अन्दाजी ३८ वर्षकी सविना र उनका चार वर्षका छोराको उद्दार गर्न उनीहरुले अपिल गरेका हुन्।

सविना र उनको छोरो विगत ६ महिनादेखि मलेशियाको सुवाङ्ग स्थित ग्लेनमरीको सार्वजनिक पार्कमा अलपत्र रुपमा रहेको सपना बस्यालले जानकारी दिइन्। आमा छोरा पार्कमा बोराले बारेको छाप्रोमा ६ महिना यता बसिरहेका छन्। उनीहरुको उद्दारका लागि मलेसियामा रहेका नेपालीहरुले पहल गरेपनि सफल हुन नसकेको बस्यालले बताइन्। 

‘सविनाको मानसिक अवस्थामा समस्या जस्तो देखिन्छ,’ उद्दारको पहल गरिरहेकी गैरआवासीय नेपाली संघ, मलेसियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बुले भनिन्। गत महिना केही नेपालीहरुले सविना र उनको छोरालाई नेपाली रेष्टुरामा लगेर राखेका थिए। तर, उनी पुनः पार्कमा छोरा लिएर फर्किएकी थिइन्। लिम्बुले उनका नेपालमा भएका आफन्त र गाउँलेलाई सम्पर्कमा आउनसमेत आग्रह गरेकी छन्।

‘उनले आफनो गाँउ ओखलढुंगाको पात्ले र बुवाको नाम विष्णुबहादुर राई भएको बताएकी छन्,’ लिम्बुले भनिन्, ‘उनी पाँच वर्ष पहिले वैदेशिक रोजगारीका लागि जोहोरवारु भन्ने स्थानमा आएको र पछि कम्पनीबाट निस्कीएर रेष्टुरामा काम गरेको खुलेको छ।’ उनले रेस्टुरेन्टमा काम गर्दा नै छोरा जन्माएकी थिइन्। छोराको बुवाका बारेमा सविनाले केही बताएकी छैनन्। उनले छोरालाई मागेर पालिरहेको लिम्बुको भनाइ छ। ‘सविनाको साथमा कुनै परिचय पत्र छैन, पैसा लिन पनि माग्दिनन्, आमा छोरा यहिसँगै बाच्छौं र मर्छौ भन्छिन्,’ लिम्बुले भनिन्, ‘खुला पार्कमा गाडी राख्न आउनेले केही खाना दिँदा रहेछन्, नभए आमा छोरा भोकै बस्दा रहेछन्।’ सविना र उनको अवोध बालकको जीवन खतरामा रहेको भन्दै लिम्बुले चाँडोभन्दा चाँडो उद्दार गर्न सहयोग गर्न अपिल गरिन्। 

सविनाका आफन्त वा चिन्नुहुनेले मलेसियाको दुतावासको सम्पर्क नम्बर ०३–२०२०१८९८ वा शुभद्रा लिम्बुलाई ०३–२०७२०६६३, ६०१०२०२८०१३ मा सम्पर्क गर्न सक्नेछ।

प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, भदौ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्