अछाम बाढी: बेपत्ता २३ मध्ये ६ को शव फेला, ३ को सनाखत
अछाम, भदौ ४ : कैलाश खोलाको बाढीले बगाएर बेपत्ता भएका अछामको रामारोशनका २३ जनामध्ये ६ जनाको शव भेटिएको छ। शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको प्रहरीले....

अछाम, भदौ ४ : कैलाश खोलाको बाढीले बगाएर बेपत्ता भएका अछामको रामारोशनका २३ जनामध्ये ६ जनाको शव भेटिएको छ। शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार बिहीबारसम्म शव भेटिएकामध्ये सनाखत भएका तीन जना अछामको रामारोशन गाउँपालिका–५ का बासिन्दा हुन्। सनाखत भएकामध्ये रामारोशन५ की २४ वर्षीया गौरी शाह, ५२ वर्षीय चन्द्र साउँद र १२ वर्षीय नविन साउँद रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक योगेन्द्रसिंह थापाले बताए।
उनका अनुसार, मंगलसेन नगरपालिका–३ मा दुई, मंगलसेन–१० मा एक, बान्नीगढी–जयगढ गाउँपालिका–८, मा दुई र रामरोश गाउँपालिका–४ मा एक जनाको शव भेटिएको छ। खोला किनारमा भेटिएको एउटा शवको टाउनको नरहेको थापाले बताए।
कैलाश खोलाको बाढीले घर बगाउँदा रामारोशन–५, की गंगा साउँद, उनका छोरा १८ वर्षीय रुपेश र १२ वर्षीय नविन, बिमादेवी साउँद, उनकी बुहारी कबिता साउँद, नातिनी ६ वर्षीय प्राप्ती बेपत्ता भएका प्रहरीले जनाएको छ।
त्यस्तै, त्यहि गाउँका ४५ वर्षीय अमर शाह, उनकी पत्नी ३५ वर्षीया पवित्रा शाह, ३७ वर्षीय बशुदेवी साउँद, ४५ वर्षीय नन्दसिंह साउँद र उनकी पत्नी ४२ वर्षीय गंगादेवी साउँद बेपत्ता छन्।
अछामकै पञ्चदेवल विनाय नगरपालिकाकी ४० वर्षीय लालसरा शाही र उनका छोरा १२ वर्षीय बसन्त बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरु पनि रामारोशनकै सैनीबजारमा बस्दै आएका थिए।
सैनिबजारकै ५५ वर्षीय जोगा साउँद र २३ वर्षीय सम्झना शाह पनि भेटिएका छैनन्। उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ। कैलाश खोलाले सैनिबजारका २२ वटा घर र पसल बगाएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँगै स्थानीय वासिन्दा पनि खोजीमा लागेका छन्।











