Kathmandu Press

खरिपाटीको क्वारेन्टाइन बन्यो २०० शैय्याको आइसोलेशन

भक्तपुर, भदौ ४ : सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थि....

खरिपाटीको क्वारेन्टाइन बन्यो २०० शैय्याको आइसोलेशन

भक्तपुर, भदौ ४ : सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेशनमा परिणत गरिएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो।

सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५०० शैय्याको आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टाइन भवनलाई आइसोलेशनका रुपमा परिणत गरेकोे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताइन्। 

हाल २०० शैय्याको आइसोलेशन तयार भएपनि तत्काल १०० शैय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, ‘संघीय सरकार र वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेशन सञ्चालन गरेका हौं, उहाँबाट जनशक्ति पनि पठाइदिने आश्वासन प्राप्त भएको छ।’

आइसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस संक्रमितलाई राखिनेछ। भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा.गौतमले जानकारी दिइन्। भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेशनमा टोली परिचालन गरिएको छ। 

तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेको छ। भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो। खरिपाटीस्थित आइसोलेशनमा लक्षण नभएका संक्रमितलाई राखिने जानकारी दिदै डा. गौतमले लक्षण भएका र जटिल खालका संंक्रमितलाई अन्य अस्पताल पठाइने भएको छ।

वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ। नेपाली सेना, स्वास्थ्यकर्मीसहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ। गत सोमबार १ जना कोरोना संक्रमित पुरुषलाई राखेर आइसोलेशन सुरु गरिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा संक्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिइन्। तत्काल २०० शैय्याको आइसोलेशनको क्षमता रहेपनि संक्रमितको संख्या बढ्दै गए १०० शैय्या थप गरेर ३०० शैय्यामा विस्तार गर्न सकिने उनले जानकारी दिइन्।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, भदौ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्