प्रदेश १ मा बुधबार थपिए १२३ जना कोरोना संक्रमित
विराटनगर, भदौ ३ : प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन्। सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन्।
<....
विराटनगर, भदौ ३ : प्रदेश १ मा बुधबार १२३ जना कोरोना संक्रमित थपिएका छन्। सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन्।
संक्रमित हुनेमा मोरङका ६७, सुनसरीका ३७, झापाका १६, पाँचथरमा एक र दुई भारतीय नागररिक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यस्तै, विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ पुरुष र २० जना महिला छन्। मोरङको रङ्गेलीमा पाँच महिला र चार जना पुरुष, बुढीगंगामा एक महिला एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एक-एक पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ।
मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा आठ पुरुष र तीन महिला, बर्जुमा चार पुरुष र एक महिला, इटहरीमा चार पुरुष, धरान र रामधुनीमा दुई-दुई पुरुष, झापाको दमकमा आठ जना, भद्रपुरमा तीन, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एक-एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
झापाका दुई जना र पाँचथरका एक जना पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बुधबार संक्रमण पुष्टि भएका भारतीय नागरिकमा एक महिला र एक पुरुष छन्।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार ३५५ पुगेको छ भने बुधबार दुई जना निको भएका छन्। दुवै जना मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट निको भएर घर फर्केका हुन्।
कोरोनाबाट संक्रमित भएका निको भएर घर फर्कनेको संख्या ११३५ जना पुगेका छन्। रासस











