निजी अस्पताललाई सरकारको चेतावनी- निर्देशन नमाने पीसीआर टेष्टको अनुमति खारेज गर्छौँ
भक्तपुर, भदौ ३ : स्वास्थ्य मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको बेड संख्या नछुट्याए पीसीआर परीक....

भक्तपुर, भदौ ३ : स्वास्थ्य मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुले कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको बेड संख्या नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ।
मन्त्रालयले आगामी दुई वर्षसम्म कुनै पनि अस्पतालले कोरोनाबाहेकका बिरामीको मात्र उपचार गर्छु भन्न सकिने अवस्था नरहेको भन्दै कोरोना संक्रमितको उपचारका लागि बेड छुट्टाउन निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले तोकेको अस्पतालमा बेड भरिएकाले संक्रमितहरुलाई निजी अस्पतालले उपचार गर्नु पर्ने निर्णय गरिएको बताए।
प्रतिष्ठान तथा मेडिकल कलेजहरुले एक तिहाइ बेड र निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि नछुट्याए पीसीआर परीक्षणका लागि दिइएकाे अनुमति खारेज गर्ने निर्णय गरिएको उनले बताए।
संक्रमितको संख्या बढ्दै गएपछि कोरोना नलागेका अन्य रोगका बिरामीहरु पनि कोरोना संक्रमित हुन सक्ने सम्भावना बढेको उनको भनाइ छ।
‘कतिपय बिरामीको उपचार अथवा उपचारका लागि अस्पतालमा भर्ना गरिसकेपछि पनि कोरोनाको रिपोर्ट पोजिटिभ आउन सक्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा संक्रमितलाई तत्कालै अन्य अस्पतालमा पठाउन सम्भव हुँदैन। अहिलेदेखि नै आवश्यक बेड, जनशक्ति र स्वास्थ्य सामग्री व्यवस्था गर्नुपर्छ।’
कोरोना संक्रमितको उपचारका लागि बेड छुट्याउने मेडिकल कलेजहरुलाई भने ल्याब सञ्चालनको अनुमति दिने निर्णय भएको डा. गौतमले बताए।
‘जुन मेडिकल कलेजले कोरोना संक्रमितको उपचारका लागि एक तिहाइ बेड छुट्याउँछ। उनीहरुलाई ल्याब सञ्चालनको अनुमति दिने निर्णय भएको छ,’ उनले भने।











