कोरोनाको इपिसेन्टर वीरगञ्जकाे नारायणी अस्पतालका मेसुको सरुवा
काठमाडौं, भदौ ३ : कोरोना भाइरसको इपिसेन्टर बनेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायको सरुवा भएको छ। कोरोनाविरुद्ध....

काठमाडौं, भदौ ३ : कोरोना भाइरसको इपिसेन्टर बनेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायको सरुवा भएको छ। कोरोनाविरुद्धको लडाइँमा दिनरात खटिरहेका उपाध्याय मन्त्रालय तानिएका हुन्।
एक वर्षदेखि कार्यरत उपाध्यायको सरुवा भएपछि अस्पतालका चिकित्सकहरु अन्यौलमा छन्। अस्पताल नेतृत्वविहिन बन्दा सिस्टम नै जाम भएको चिकित्सकहरुको गुनासो छ। ‘उहाँ (उपाध्याय) दिनरात खटिनुभएको थियो। यस्तो बेला अनेक आरोप लगाएर प्रोपोगण्डा रचेर सुरुवा गरिएको छ,’ अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले काठमाडौंप्रेससँग भने, ‘नेतृत्व नहुँदा हामी अन्यौलमा छौं। निर्णय प्रक्रिया ठप्प छ। अहिले काम चलाउ हिसाबले काम गरिएको छ।’
सिंहले कोरोनाका कारण मृत्यु भएको विषय, रिपोर्ट नआएको विषयसँग अन्य तयारीका सन्दर्भमा सम्पूर्ण दोष उपाध्याय माथि थोपरिएको बताए। ‘चार दिन भयो, अस्पताल अभिभावक विहिन जस्तो बनेको छ,’ उनले भने, ‘नयाँ मेसु आउने पनि टुंगो छैन। यस्तो बेला अस्पताल नेतृत्वविहिन हुनु दुःखद हो।’
सिंहका अनुसार उपाध्यायको ठाँउमा सरुवा गरिएका डा. सञ्जय ठाकुरले हाजिर हुन अस्विकार गरेका छन्। ‘उहाँ (ठाकुर)सरले समेत आउन अनिच्छा देखाएको सुनिएको छ,’ उनले भने, ‘यहाँ चिकित्सकहरु माथि गरिएको व्यवहारका कारण उहाँले चिठी बुझेर पनि आउन मान्नुभएन भन्ने सुनेको छु। यसले थप अन्यौलता थपेको छ।’
नारायणी अस्पताल अन्तरत अहिले दुई अस्पतालमा तीन सय जना भन्दा बढी संक्रमितको उपचार भइरहेको छ। नारायणी अस्थाई गण्डक कोभिड अस्पताल र वीरगञ्ज हेल्थ केयरमा १५० जना संक्रमित उपचाररत छन्। ती मध्ये २५ जना भेन्टिलेटरमा छन् भने पाँच जनाको अवस्था चिन्ताजनक रहेको सिंहको भनाइ छ। यस्तै रानी पोखरी होटल, सिदार्थ स्कुल, रानीसती धर्मशाला, कल्वार धर्मशाला, त्रियुद्ध आइसोलेन, होटल बाटिका आइसोलेसन २५० जनाको उपचार भइरहेको सिंहले जानकारी दिए।











