Kathmandu Press

नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा बुद्धको मूर्ति फेला

जलेश्वर, भदौ ३ : महोत्तरीको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएक....

नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा बुद्धको मूर्ति फेला
प्रतिकात्मक तस्बिर

जलेश्वर, भदौ ३ : महोत्तरीको मनरासिस्वा नगरपालिका –९ स्थित बथनाहा गाउँमा नेपाल भारत सिमानामा बग्ने टेकुना नदीमा आज बिहान बुद्धको एक मूर्ति भेटिएको छ। बथनाहाका २२ वर्षीय डोमा सदाले नदीमा बुद्धको मूर्ति फेला पारेको स्थानीय राजनीतिकर्मी चन्दन दुबेले बताए।

उनका अनुसार सदाले नदी किनारमै कुश उखेलिरहेका बेला कालो कपाल देखेपछि  ठूलो माछा तैरिरहेको भनी समात्न जाँदा त्यो मूर्ति पाएका थिए। 

धातुको पहिचान नखुलेको, सुनौलो र खैरो रङको एक÷डेढ फिट लम्बाइको ध्यान मुद्रामा रहेको मूर्ति फेला पर्नासाथ उनले आफ्नो घरमा ल्याएर ताल्चा लगाई बन्द गरेर राखेका थिए।

त्यसपछि उनले टोलछिमेक सबैलाई जानकारी दिएपछि भारततर्फ पनि नदीमा बुद्धको मूर्ति फेला परेको कुरा पुगेको र तत्कालै भारत बिहार राज्यको सीतामढी जिल्ला (सहसराम क्याम्प) बाट सीमा सुरक्षा बल (एसएसबी) को टोली आई सदालाई आफ्नो शिविरमा समातेर लगेको वडाध्यक्ष बलिराम रायले बताए।

घटनाबारे खबर हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली पनि  सदाको घरमा पुगेको छ। वरपर दुईचार गाउँका करीब पाँच सय व्यक्ति अहिले  उनको घरमा मूर्ति हेर्न पुगेका छन्। सदालाई त्यहाँबाट ल्याउन आवश्यक पहल भइरहेको वडाध्यक्ष रायले बताए।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, भदौ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्