Kathmandu Press

यस वर्ष गोकर्णे औँसीको मेला नहुने

काठमाडौं, भदौ २ : गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन  मेला नलाग्ने जनाएको छ। बाब....

यस वर्ष गोकर्णे औँसीको मेला नहुने

काठमाडौं, भदौ २ : गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन  मेला नलाग्ने जनाएको छ। बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ।  
 
नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक मेला नगर्न नगराउन आह्वान गरिएको नगर प्रमुख सन्तोष चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कोरोनाको महामारीका बेला घरघरमै सुरक्षित बसेर पितृप्रति सम्मान गर्न पनि नगरपालिकाले आह्वान गरेको छ।नगरपालिकाको निर्णयअनुसार आज बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्ने गरी जान नपाउने व्यवस्था गरिएको वडा नं–४ को अध्यक्षसमेत रहेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।


यस वर्ष गोकर्णेश्वर नगरपालिकाले पूजा सञ्चालनका लागि ७५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेपछि साउन १ गतेदेखि पुरानै परम्पराअनुसार बाजागाजासहित पूजा आराधना सुरु भएको छ । कोरोनाका कारण मन्दिरमा लाग्ने मेला, जात्रालगायत भीडभाड हुने कार्यक्रम बन्द गरिए पनि नित्य पूजा आराधना भने यथावत् रहने समितिले जनाएको छ। विगत वर्षहरुमा भाद्रकृष्ण औँसीको तीन दिनअघिदेखि नै भक्तजन मन्दिर क्षेत्रमा आएर बस्ने गरेकामा यस वर्ष कोरोनाका कारण चहलपहल नभएको पुजारी जगदिशप्रसाद भट्टले जानकारी दिए। भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर क्षेत्र वरपर हजारौँ मानिस दिवङ्गत पितृप्रति सम्मान गर्न उपस्थित हुने गरेका थिए।

कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि चाडपर्व, मेला, जात्रामा हुने भीडभाड यस वर्ष बन्द गर्ने निर्णय गरेको थियो। कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत रोकिएको छ। यसैगरी इन्द्रजात्रा पनि स्थगित गरिएको छ। हरितालिका (तीज) पर्वसमेत तामझामका साथ नगर्न नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ।

नगरपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सबै सेवा पनि भदौ ९ गतेसम्मका लागि बन्द रहने नगर प्रमुख चालिसेले जानकारी दिए।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, भदौ २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्