बाँकेमा कोरोना संक्रमणबाट बृद्धको मृत्यु
नेपालगञ्ज, भदौ २ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय बृद्धको गएराति मृ....

नेपालगञ्ज, भदौ २ : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जना बृद्धको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका ५ का ६२ वर्षीय बृद्धको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। उनको नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको हो।
फोक्सोमा निमोनिया भएपछि उनलाई साउन ३० गते नेपालगञ्ज शिक्षण अस्पताल भर्ना गरिएको थियो। कोरोनाको लक्षण देखिएपछि साउन ३२ गते स्वाब संकलन गरिएको थियो।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। सोमबार आएको कोरोना रिपोर्टमा पोजिटिभ देखिएको थियो।
श्वासप्रश्वासमा समस्या देखिएका उनको सोमबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
यसअघि बाँकेको नरैनापुर, बैजनाथ र कोहलपुरका तीन जनाको कोरोना संक्रममणबाट मृत्यु भएको थियो।
मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।











