९६ वर्षमा दीक्षित भएका प्याटेनोको लेखक बन्ने लक्ष्य
काठमाडौं, भदौ १ : ९६ वर्षीय जुसेप्प प्याटेनोले जीवनमा गरिबी, युद्ध तथा महामारीमा परीक्षाको सामाना गरे।
जीवनका विविध परीक्षामा खरो ....

काठमाडौं, भदौ १ : ९६ वर्षीय जुसेप्प प्याटेनोले जीवनमा गरिबी, युद्ध तथा महामारीमा परीक्षाको सामाना गरे।
जीवनका विविध परीक्षामा खरो उत्रिएका प्याटेनोले विश्वविद्यालको परीक्षा समेत उत्तीर्ण गर्दै इटालीका बयोवृद्ध दीक्षित बन्न सफल भए।
रेल्वेका अवकाश प्राप्त कामदार प्याटेनो दुई साताअघि दीक्षान्त समारोहमा सरिक भएका थिए। उनले पढाइको प्रमाणपत्र लिँदै गर्दा उनी भन्दा ७० वर्ष कम उमेरका विद्यार्थी, प्याटेनोका शिक्षक र उनका परिवारले हल नै गुन्जयमान हुने गरी ताली पिटे।
.jpg)
बुढ्यौलीमा दीक्षान्त भएका प्याटेनोले बढो जोशका साथ प्रतिक्रिया दिए। 'उमेरले म निकै पाको छु तर मभित्र लगाव र जोस तन्नेरीहरु जस्तै छ,' प्याटेनोले भने।
उनले इतिहास तथा दर्शन विषयमा पालर्मो विश्वविद्यालयबाट स्नातक तहको पढाइ सकेका हुन्। 'पढाइका लागि इच्छा शक्ति ठूलो कुरा हो, उमेर सहायक हो। तीन वर्षीय पढाइ पार लगाउन सक्छु कि सक्दिनँ होला भन्ने हुन्थ्यो। तर मैले पार गरेरै छोडे,' जोशिलो भावमा प्याटेनोले प्रतिक्रिया दिए।
सन् २०१७ मा उनी विश्वविद्यालय भर्ना भएका थिए। गरिब परिवारमा जन्मिएका प्याटेनोले सामान्य विद्यालय शिक्षाको अवसर पाए। विद्यालय तहको अध्ययन सकेपछि उनी नौसेनामा भर्ती भए र दोस्रो विश्वयुद्ध लडे। विश्वयुद्धताका नै विवाह गरेका उनका दुई सन्तान भए।
विश्वयुद्ध अन्त्यपछि सन्तानको रेखदेख र आवास निर्माणमा लाग्नु पर्ने जिम्मेवारी उनमा थियो। तर, प्याटेनोले शिक्षा आर्जनलाई पनि निरन्तरता गरे। ३१ वर्षको उमेरमा उनले हाइस्कूल सके तर त्यसपछिको अध्ययन भने ६५ वर्षपछि सके।
.jpg)
'शिक्षा भनेको सुटकेश जस्तै हो जहाँ जाँदा पनि त्यसको उपयोगिता भइराख्छ,' प्याटेनो भन्छन्। उनका २० वर्षीय सहपाठीहरु जस्तो उनलाई गुगलको अम्मल स्वभाविक रुपमा भएन। त्यसैले प्रकाशित पुस्तक खरिद गरेर पढ्दै आमाले सन् १९८४ मा दिएको टाइपराटरको सहायताले नोट बनाउँथे।
'जवान सहपाठीका लागि प्याटेनो प्रेरणादायी पात्र हुन्,' उनलाई समाजशास्त्र पढाएका प्राध्यापक फ्रान्सेसका रिजोटुले दीक्षान्त समारोहमा भने।
कोरोना महामारीको अवस्थामा हुने अनलाइन पढाइ हुँदा विश्वविद्यालयको कक्षा उनले मिस गरेका थिए। ९६ वर्षीय उनी पूर्ण रुपमा सुरक्षित पनि छन्।
'जिन्दगीमा युद्धमा पनि सुरक्षित भइयो। महामारीमा पनि सुरक्षित छु। यसले मलाई थप बलियो बनाएको छ, म मेरा सहपाठीलाई पनि सुरक्षित हुन र मनोबल उच्च पार्न अनुरोध गर्दछु,' उनले भने।
९६ वर्षमा स्नातक सकेका उनलाई आगामी योजनाबारे समेत प्रश्न गरिएको थियो। उनले आगामी दिनमा आफ्ना स्मृतिहरु शब्दमा उतार्ने बताए।
'म अब मेरा स्मृतिलाई शब्दमा उतार्न चाहन्छु जुन मैले पहिले व्यस्तताका कारण लेख्न सकेको थिइनँ,' उनले भने।
-रोयटर्सबाट अनुवादित











