Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री ओली-देउवाबीच सवाल जवाफ

काठमाडाैं, भदाै १ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा समेत सरकारले आइसोलेशन र भेन्टिलेटरको उच....

बालुवाटारमा प्रधानमन्त्री ओली-देउवाबीच सवाल जवाफ
फाइल

काठमाडाैं, भदाै १ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा समेत सरकारले आइसोलेशन र भेन्टिलेटरको उचित व्यवस्थापन गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन्।

सोमबार बालुवाटारमा भएको छलफलमा देउवाले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको  भन्दै सरकारको आलोचना गरेका हुन्। 'एक सयभन्दा बढी मानिसले ज्यान गुमाएको अवस्थामा आवश्यक आइसोलेसन र भ्यान्टिलेटर सरकारले निर्माण गर्नुपर्दैन?' उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले आलोचनाका खातिरमात्रै आलोचना नगर्न प्रत्युत्तर दिएका छन्।'सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य कोरोनाको रोकथामका लागि गरिरहेको छ। आवश्यक भेन्टिलेटर प्राप्तिका लागि दातृ निकायसँग छलफल तथा खरिदका लागि प्रक्रियासमेत अघि बढाइरहेको छ। आलोचनाका लागि आलोचना नगरौँ,' उनले देउवालाई प्रतियुत्तर दिएका थिए।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति हटाउन कुलपतिका रूपमा ध्यान पुर्‍याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । विभिन्न विश्वविद्यालय र क्याम्पसमा देखिएका समस्या समाधानका लागि तत्काल संवाद हुनुपर्ने माग देउवाले गरेको भेटमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले बताए।

बैठकमा संवैधानिक आयोगकको रिक्तता अन्त्य गर्ने विषयमा समेत परामर्श भएको नेता लेखकले जानकारी दिए। 'प्रधानमन्त्रीले संवैधानिक आयोगकको रिक्ततालाई अन्त्य गर्ने विषयमा छलफल गर्न बैठक बोलाउनुभएको रहेछ,' नेता लेखकले भने। संवैधानिक परिषद्को बैठक नबस्दा १० वटा आयोगमा ४० वटा पदमा नियुक्ति हुन सकेको छैन। 

गत साउन १३ गते सर्वोच्च अदालतले समेत पाँच वर्षदेखि संवैधानिक आयोग रिक्त रहेकोबारे जवाफ दिन सरकारको नाममा आदेश दिएको थियो। त्यसको जवाफ साउन २८ गते पठाउँदै संवैधानिक आयोगका नियुक्ति संवैधानिक परिषद्‍बाट हुने भएकाले त्यो न्यायिक क्षेत्राधिकार नपर्ने जवाफसहित रिट खारेजीको माग गरेको थियो।

नेपाल कम्युनिष्ट पार्टीको किचलोमा प्रधानमन्त्री ओली व्यस्त हुँदा संवैधानिक परिषद्को बैठक बस्न सकिरहेको छैन।

प्रकाशित मिति: १४:४६ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्