Kathmandu Press

प्रधानमन्त्रीलाई देउवाले भने- लिदीमा भएको गम्भीर गल्तीको जिम्मा लिनुपर्छ कि पर्दैन ?

काठमाडौं, भदौ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको लिदीका जनताले आफूहरुलाई सुरक्षित स्थानमा सार्न गुहार....

प्रधानमन्त्रीलाई देउवाले भने- लिदीमा भएको गम्भीर गल्तीको जिम्मा लिनुपर्छ कि पर्दैन ?
फाइल

काठमाडौं, भदौ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको लिदीका जनताले आफूहरुलाई सुरक्षित स्थानमा सार्न गुहार माग्दा पनि सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका छन्।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सभापति देउवाले जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान सरकारको लापरवाहीका कारण गएको बताएका हुन्।  

‘गाउँबासीले दश दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ,’ देउवाले भने,‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन प्रधानमन्त्रीज्यू?

जनताको जिउधनको सुरक्षामा सरकारको भूमिका सन्तोषजनक नभएको बताउँदै देउवाले व्यवस्थित र प्रभावकारी ढंगले काम गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे। सभापति देउवाले कोरोनाको बढ्दो चुनौती सामना गर्न सक्ने ढंगले काम गर्न सरकार असफल भएको पनि बताए। ‘कोरोनाले सयभन्दा बढीको ज्यान गइसकेको छ। कोरोना नियन्त्रण सरकार समर्थ देखिएन,’ देउवाले भने,‘ कमजोरीको समिक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन?’

भेटमा देउवाले आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न सरकारले किन ढिलाइ गरेको भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका थिए। 

यस्तै, सभापति देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति हटाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो। प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, किर्तिपुर देखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिन देखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याई प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन,’उनले भने,‘अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्नुहोस्।’ 

भेटमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवैधानिक नियुक्तिका विषयमा पनि छलफल भएको थियो।  
 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, भदौ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्