सिन्धुपाल्चोकमा आजदेखि लकडाउन
सिन्धुपाल्चोक, भदौं १ : कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ। बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार ....

सिन्धुपाल्चोक, भदौं १ : कोभिड– १९ को संक्रमण दैनिक बढ्दै गएपछि सिन्धुपाल्चोकमा आजदेखि लकडाउन गरिएको छ। बन्दाबन्दीका कारण आज जिल्लाका मुख्य बजार बिहानैदेखि सुनसान देखिएको छ। छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने जनाउँदै गए राति १२ बजेदेखि लागु हुने गरी यहाँ एक सातासम्म लकडाउन गरिएको हो।
शनिबार बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि एक सातासम्मका लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको थियो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय भएको छ। जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र अब संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो।
यस अवधिमा कुनै व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, प्रदर्शन, शैलुन र खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालयमा आवश्यक सेवा भने बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ।











