नारायणकाजीले भने– म कार्यदलको विपक्षमा छैन
काठमाडौं, साउन ३२ : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू पार्टी भित्रको विवाद समधानका लागि गठन गरिएको कार्यदलको विपक्षमा नरहेको बताएका छन्। कार्....

काठमाडौं, साउन ३२ : नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू पार्टी भित्रको विवाद समधानका लागि गठन गरिएको कार्यदलको विपक्षमा नरहेको बताएका छन्। कार्यदल गठनपछि श्रेष्ठ लगायतका नेताहरु असन्तुष्ट रहेको चर्चा भइरहेका बेला श्रेष्ठले आफू विपक्षमा नरहेको बताएका हुन्।
उनले पार्टीका दुई अध्यक्षद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र संकटको निकासको लागि गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको र यसले पार्टी एकताको रक्षा सुनिश्चित भएको सन्देश समेत दिएको बताएका छन्।
‘मैले यस अघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सुत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र के को निर्णय अनुसार महाधिवेशनको तयारी। पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको छ,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘कार्यदलले तात्कालिन रुपमा कोभिड १९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्टिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ। यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ।’
श्रेष्ठले कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गलत भएको बताउँदै पार्टी भित्र केही विषयमा कुनै छलफल ,बहस र संघर्ष भयो भने पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्न उपयुक्त नहुने भएकाले सचेत बन्नुपर्ने बताएका छन्। उनले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्ने बताए।











