चितवन मेडिकल कलेजले पायो पीसीआर परीक्षण अनुमति
चितवन, साउन ३२ : निजी क्षेत्रबाट कोरोनाको पीसीआर परीक्षणको अनुमति चितवन मेडिकल कलेजले पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो ....

चितवन, साउन ३२ : निजी क्षेत्रबाट कोरोनाको पीसीआर परीक्षणको अनुमति चितवन मेडिकल कलेजले पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मंगलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए। जिल्लामा हालसम्म निजी खर्चमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला छैन। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित संक्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ।
न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु ५ हजार ५ सयमा १० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि छ हजार ५० लिइने उनले जनाकारी दिए। कलेजले भित्र्याइएको पीसीआर मेसिनमा ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ। कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन्।
दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ। कलेजले जडान गरेको पीसीआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो। उनले भने “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो। यस्तो नेपालमा अन्यत्र छैन।” यसलाई बिएसएलस्तरको भनिने उनको भनाइ छ।
प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख रुपैयाँ खर्च भइसकेको कलेजले जनाएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन्। निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन्। जिल्लामा दैनिक कोरोना संक्रमण बढ्दै गएको छ। भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ।











