अस्पताल ल्याउँदा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
पर्सा, साउन ३२ : अस्पताल ल्याउँदा मृत्यु भएका पर्साका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एक सातादेखि बिसन्चो भएका पर्साको सुगौल....

पर्सा, साउन ३२ : अस्पताल ल्याउँदा मृत्यु भएका पर्साका एक युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एक सातादेखि बिसन्चो भएका पर्साको सुगौलीको ४७ वर्षीयलाई शनिबार वीरगञ्जस्थित नारायणी अस्पताल ल्याइएको थियो। उनको अस्पताल पुर्याउँदा मृत्यु भइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए।
उनको शनिबार बिहान मृत्यु भएको थियो। त्यसपछि अस्पतालमै स्वाब संकलन गरिएको थियो।
शनिबार राति आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको डा.उपाध्यायले बताए। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म एक सय तीन जनको मृत्यु भएको थियो। शनिबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु भएको थियो।
मृतकका परिवारजनका अनुसार, उनलाई एक सातादेखि सन्चो थिएन। ज्वरोसँगै खोकी लागेको थियो। दुई दिनयता श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।
शुक्रबार रातिदेखि श्वास फेर्न गाह्रो भएपछि शनिबार बिहान अस्पताल ल्याएका थिए। यस अघि उनको घरमै बसेर औषधि लिइरहेका थिए। परिवारजनका अनुसार सामान्य रुघाखोकी ठानेर स्थानीय मेडिकलबाट औषधि लिएर खाइरहेका थिए।











