Kathmandu Press

अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माणको काम

काठमाडाैं, साउन ३१ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ।

अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माणको काम
फाइल

काठमाडाैं, साउन ३१ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ।

आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेड बक्स’ को बाँकी काम अघि बढाएको छ। अहिले त्यहाँ कङ्क्रिट राख्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

उनका अनुसार यसको निर्माण सम्पन्न गर्ने अवधि अझै चार महिना (डिसेम्बर) सम्म रहेकाले कम्पनीले बाँकी काम निर्धारित अवधिमा सकाउने देखिएको छ। उनले भने, “अहिलेसम्म कामको गति हेर्दा हेडबक्स निर्माणमा ढिलाइ हुने देखिँदैन।”
 
आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो। सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले सो दुर्घटना भएको पाइएको थियो। अहिले त्रुटि सच्याउने काम भइरहेको छ। त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने पन्तले बताए। 

उनले भने, “हेडबक्स बनिसकेपछि मात्रै त्यसमा पानी पठाइनेछ।” दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ।  यसअघि काम गरेको इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ। रासस

प्रकाशित मिति: १५:२८ बजे, शनिबार, साउन ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्