राष्ट्र बैंक भन्छ- कोरोनापछि सात सय संस्थामा २२ प्रतिशत कामदार कटौती
काठमाडाैं, साउन ३१ : कोरोना महामारीपछि नेपाली उद्यममा २२.५ प्रतिशत कामदार कटौती गरेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
पर्यटन, कृषि तथा....

काठमाडाैं, साउन ३१ : कोरोना महामारीपछि नेपाली उद्यममा २२.५ प्रतिशत कामदार कटौती गरेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
पर्यटन, कृषि तथा होलसेल र खुद्रा विक्री केन्द्र लगायतका संस्थामा २२.५ प्रतिशत कर्मचारी कटौती भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको हो।५२ जिल्लाका ७ सयभन्दा बढी उद्यममा अध्ययन गर्दा २२.५ प्रतिशत कामदार कटौती भएको पाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए।
यस्तै, १८ प्रतिशत कामदारको तलब कटौती भएको पाइएको छ भने ६१ प्रतिशत उद्यम पूर्णरुपमा बन्द भएको राष्ट्र बैंकको अध्ययनले जनाएको छ। नेपालले चैत ११ देखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो। कोरोनाको महामारीपछि नेपाली अर्थतन्त्रमा अरु असर पनि परेको छ। एसियाली विकास बैंक एडीबीले नेपालको रेमिट्यान्स २२ प्रतिशतले घट्ने प्रक्षेपण पनि गरेको थियो।
कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई पहिलेको अवस्थामा ल्याउनका लागि एक वर्ष समय लाग्ने राष्ट्र बैंकका निर्देशक भट्टको भनाइ छ। 'महामारी छिट्टै अन्त्य भएको अवस्थामा नेपाली अर्थतन्त्रलाई कोरोना माहामारीअघिको जस्तै बनाउन कम्तिमा १३ महिना लाग्नेछ,' भट्टले भने।
कोरोनाका कारण नेपालको ८ दशलमल ३ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा पनि स्वभाविक रुपमा असर पुग्ने भएको छ।











