नेकपा विवाद अब लम्बिँदैन : कार्यदल
काठमाडौं, साउन ३० : नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ।
शुक्रबार बालुवाटारमा बसेको....

काठमाडौं, साउन ३० : नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ।
शुक्रबार बालुवाटारमा बसेको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपालका तर्फबाट दुई-दुई जना सदस्य राखिएको छ।
महासचिव पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पौडेल र पम्फा भुषाल सदस्य रहेका छन्। कार्यदलका सदस्यहरुले पार्टीको विवाद छिट्टै समाधान गर्ने दाबी गरेका छन्।
के भन्छन् विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरु ?
कार्यदलले समाधानको विकल्प छिट्टै पेश गर्छ : विष्णु पौडेल
बालुवाटारमा दुई अध्यक्षबीच जनताले पार्टीलाई दिएको म्यान्डेट अनुसार अघि बढ्नुपर्ने सहमति भयो। पार्टीलाई एकतावद्धरुपमा अघि बढाउने उहाँहरुको निष्कर्षपछि जारी विवाद समाधानका लागि सबै पक्षलाई समेटेर कार्यदल बनाउने कुरा उठ्यो। त्यसै अनुरुप ६ सदस्यीय कार्यदल गठन भएको छ। यो कार्यदलले पार्टीभित्र देखिएका अन्तरविरोधको हल यथासक्य गर्नेछ। हामी भोलिदेखि नै छलफलमा जुट्नेछौँ। यो कार्यदलले समाधानको विकल्प छिट्टै पेश गर्नेछ।
विवाद समाधानका लागि भूमिका खेल्छाैं : भीम रावल
पार्टीको सचिवालय तथा स्थायी कमिटीले विवाद समाधान गर्न नसकेको अवस्थामा कार्यदल गठन भएको छ। विवाद समाधानको विकल्प पेश गर्ने जिम्मेवारी यो कार्यदलले पाएको छ। कार्यदललाई पार्टी एकता रक्षाका लागि कार्यभार आइपरेको हो। हामी छिट्टै विवाद समाधानको कोशिश गर्नेछौँ।
पार्टीलाई गतिशील बनाउन काम गर्छाैँ : जनार्दन शर्मा
पार्टीको विवाद अब धेरै लम्ब्याउन नहुने मनस्थितिसहित विवादलाई समाधान गर्न र पार्टीलाई गतिशील बनाउन यो कार्यदल बनेको छ। कार्यदलमा सबै पक्षको प्रतिनिधित्व रहेको हुनाले सबैका माग तथा एजेण्डामा सामूहिक छलफल गरी निष्कर्ष यो कार्यदलले निकाल्ने छ।
महाधिवेशनमा कसरी जाने, त्यसको संयोजनको नेतृत्व कसले गर्ने, पार्टीका संरचनालाई कसरी गतिशील बनाउने र विधिमा पार्टीलाई कसरी हिँडाउने भन्ने विषयमा कार्यदलको छलफल केन्द्रित हुन्छ। पार्टीको एकता रक्षाका लागि सम्पूर्ण शक्ति लगाउँदै उपयुक्त विकल्पहरु कार्यदलले छिट्टै बुझाउनेछ।











