ओलीसँगको भेटघाट लगत्तै केन्द्रीय सदस्यसँग प्रचण्ड-नेपालको छलफल
काठमाडौं, साउन २९ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटघाट सकिए लगत्तै प्रदेश नम्बर पाँच....

काठमाडौं, साउन २९ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटघाट सकिए लगत्तै प्रदेश नम्बर पाँच प्रदेशस्तरिय केन्द्रीय सदस्यहरुको भेला सुरु भएको छ।
थापागाँउस्थित प्रसिडेन्टियल कलेजमा प्रचण्ड–माधवकुमार नेपाल गुटका उपलब्ध केन्द्रीय सदस्यहरुको भेला भएको हो। पार्टीमा देखिएको गतिरोधका विषयमा भेलामा छलफल हुने बताइएको छ। भेलामा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
आजै (बिहीबार) नौ दिनको संवादहिनता तोडेर दुई अध्यक्षबीच छलफल भएको थियो। बालुवाटरस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा पार्टीभित्र देखिएको विवाद समधानका विषयमा छलफल भएको थियो।
छलफल सकारात्मक बनेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। ‘छलफलको सुरुवात भएको छ। विवाद समधानका लागि दुवै नेता सकारात्मक देखिनुभएको छ,’ उनले भने।
साउन २० गते बसेको छलफलमा सहमति नजुटेपछि दुवै अध्यक्षबीच संवादहिनताको स्थिती सिर्जना भएको थियो। बिहीबार विवाद समधानमा सहमति खोज्न ओलीलाई भेट्न प्रचण्ड ११ बजे बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब चार घण्टा लामो छलफल भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो।
आसार १० गतेबाट सुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र विवाद चुलिएको थियो। सोही विवादका कारण स्थायी समिति बैठकसमेत अनिश्चित बन्न पुगेको छ। ओलीले स्थायी समिति स्थगित गरी सचिवालय बैठकबाट समाधन खोजिनुपर्ने अडान राखेका थिए।











